
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न चालु आर्थिक वर्षमा दुई सय नयाँ टेलिफोन टावर निर्माण तथा १ हजार ५ सय ९७ स्थानमा फोरजी सेवा विस्तार गर्ने तयारी भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विभिन्न समयमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सेवा विस्तार, उपकरण थप तथा विद्युत् आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
कतिपय क्षेत्रमा अझै दूरसञ्चार सेवा विस्तार हुन नसकेको तथा विद्युत् र पावर ब्याकअपको अभावमा मोबाइल टावर लामो समय सञ्चालन हुन नसक्ने समस्या रहेको भन्दै उनले नेपाल टेलिकमलाई विस्तृत कार्ययोजना बनाएर काम गर्न निर्देशन दिइएको जानकारी दिए।
उनका अनुसार चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको छ।
मोबाइल सेवाको पहुँच र गुणस्तर सुधारका लागि नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले बताए। त्यस्तै, देशभर मोबाइल नेटवर्कमा देखिएका समस्या समाधान गर्न १ हजार ५ सय ९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित गर्ने तयारी रहेको उनले जानकारी दिए।
टावरको ब्याकअप क्षमता बढाइँदै
विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले नेपाल टेलिकमका टावरमा पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको मन्त्री तिमिल्सिनाले बताए।
उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ। यसबाट विद्युत् आपूर्ति अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा तथा सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म मोबाइल सेवा सञ्चालन गर्न सकिने उनले बताए।
हाल करिब ५ सय ओटा ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गरिसक्ने लक्ष्य रहेको उनले जानकारी दिए। थप २ सय ओटा ब्याट्री खरिदका लागि समेत बोलपत्र प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै, ३२ ओटा विद्यमान सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने कामका लागि भएको बोलपत्र सम्झौताको चरणमा रहेको उनले बताए। सम्भव भएसम्म सोलार साइटलाई राष्ट्रिय विद्युत् प्रसारण प्रणालीमा जोड्न ऊर्जा मन्त्रालयसँग समन्वय भइरहेको उनको भनाइ छ।
टावरका उपकरण चोरी र भौतिक क्षति चुनौती
राष्ट्रिय विद्युत् प्रसारण प्रणाली नपुगेका क्षेत्रमा रहेका नेपाल टेलिकमका सोलार साइटमा ब्याट्री, उपकरण तथा ब्याट्री जोड्ने तार चोरी हुने गरेको मन्त्री तिमिल्सिनाले बताए।
कतिपय टावरमा भौतिक क्षतिसमेत हुने गरेको भन्दै उनले यस्ता घटनाका कारण दूरसञ्चार सेवामा पटक-पटक समस्या आउने गरेको बताए। दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याउने तथा चोरी गर्नेहरूमाथि कडा कारबाही गरिने उनले जानकारी दिए।
भोटेकोशी बाढीबाट नेपाल टेलिकमलाई ८ करोड ८५ लाखभन्दा बढी क्षति
मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, तारसहितको टेलिफोन तथा मुख्य प्रसारण प्रणालीमा करिब ८ करोड ८५ लाख १२ हजार ६ सय ८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी सदनलाई गराए।
रसुवा, नुवाकोट र धादिङमा रहेका १ सय २० साइटमध्ये ८३ ओटाको सेवा बाढीका कारण अवरुद्ध भएको थियो। तीमध्ये त्रिशूली-३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।
पूर्णरूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइसकिएको उनले बताए। तीन साइट तत्काल पुनःस्थापना गर्न नसकिए पनि आवश्यक स्थानमा वैकल्पिक टावर स्थापना गरी मोबाइल नेटवर्कको पहुँच कायम गरिएको उनको भनाइ छ।
टिमुरेको टावरमा यही साता हेलिकप्टरमार्फत सोलार प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
३७.९ किलोमिटर फाइबर नेटवर्कमा क्षति
रसुवा, नुवाकोट र धादिङमा रहेको कुल ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएको थियो। त्यसमध्ये २७.४ किलोमिटर फाइबर नेटवर्क मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए।
तारसहितको दूरसञ्चार नेटवर्कअन्तर्गत रसुवा र नुवाकोटका तीन ओटा मुख्य नेटवर्क उपकरण पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। केही घरसम्म फाइबर पुर्याउने सञ्जालमा समेत क्षति पुगेको थियो। क्षतिग्रस्त मुख्य नेटवर्क उपकरणमध्ये अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए।
त्यस्तै, टिमुरे र रसुवागढी क्षेत्रमा फाइबर तथा माइक्रोवेभ प्रणालीमा क्षति पुगेको थियो। हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट मुख्य प्रसारण सेवा पुनःस्थापना गरिएको मन्त्री तिमिल्सिनाले बताए।

