
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान र अनुभव मुलुकको विकासमा उपयोग गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति निर्माण र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले सांसदहरू नीति निर्माण गर्ने महत्वपूर्ण भूमिकामा रहेकाले आफ्नो प्राविधिक ज्ञान र सीपको अधिकतम उपयोग गर्नुपर्ने बताए।
उनले भने, “तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।”
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए।
निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि आफ्नो विज्ञता र प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे।
प्रधानमन्त्री शाहले प्राविधिक दक्षता भएका सांसदहरूले आफ्नो क्षेत्रको ज्ञानलाई नीति निर्माणसँग जोड्न सके मुलुकको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

