
काठमाडौं । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका ६ ओटा मुख्य निर्णय सार्वजनिक गरिएको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्ले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला-ढल्केश्वर-पतलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ।
बैठकले पशु, बधशाला र मासु जाँच ऐन-२०५५, संघीय निजामती सेवासम्बन्धी कानुन तथा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ संशोधनसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
त्यस्तै, नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
नेपाल इन्जिनियरिङ सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा डा. जगदीश्वर कर्मचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ।

