
काठमाडौं। चिनियाँ अटोमोबाइल कम्पनी डोङफेङको प्रिमियम इलेक्ट्रिक एसयूभी एमहिरो-१ नेपाली बजारमा शोकेस गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा एमहिरो-१ सार्वजनिक गरेको हो।
शक्तिशाली इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको एमहिरो-१ लाई अफरोड क्षमता, उच्च पावर र प्रिमियम डिजाइनमा केन्द्रित गरिएको छ।
एमहिरो-१ मा चार ओटा इलेक्ट्रिक मोटर जडान गरिएको छ। ती मोटरले संयुक्त रूपमा ८०० किलोवाट अर्थात् १ हजार ०८८ एचपी पावर र १ हजार ४०० एनएम टर्क उत्पादन गर्ने बताइएको छ। करिब ३.५ टन तौल रहेको एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ४.२ सेकेन्डमा हासिल गर्ने कम्पनीको दाबी छ।
एसयूभीमा ६५.८ किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग गरिएको छ। डब्लूएलटीपी परीक्षणअनुसार यसले पूर्ण चार्जमा ४५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। रेन्ज एक्सटेन्डेड प्रविधिसहितको यसमा ८० लिटरको इन्धन ट्यांकसमेत राखिएको छ।
अफरोड क्षमताका लागि एयर सस्पेन्सन दिइएको एमहिरो-१ को सामान्य ग्राउण्ड क्लियरेन्स २४० एमएम रहेको छ, जसलाई आवश्यकताअनुसार ३३० एमएमसम्म बढाउन सकिन्छ। एसयूभीले ९०० एमएम गहिराइसम्मको पानी पार गर्न सक्ने क्षमता राख्ने कम्पनीको दाबी छ।
कठिन भूभागमा सहज ड्राइभिङका लागि बालुवा, चट्टान, हिलो र पानीका लागि छुट्टाछुट्टै अफरोड ड्राइभिङ मोड उपलब्ध छन्।
डिजाइनतर्फ एमहिरो-१ मा ठूलो ड्यासबोर्ड स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर तथा गोलाकार थ्री-स्पोक स्टेयरिङ ह्वील दिइएको छ। यसको ढोका खोल्ने ह्यान्डलसमेत पेस्तोलको आकारबाट प्रेरित डिजाइनमा तयार गरिएको छ।
नाडा अटो शोमा प्रदर्शनीका लागि राखिएको एमहिरो-१ को बिक्री भने तत्काल सुरू हुने छैन। एमएडब्लू वृद्धिका अनुसार नेपालमा यसको बिक्री सन् २०२७ जनवरीदेखि सुरू गर्ने तयारी गरिएको छ।

