
कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका छन्।
अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुमबासी कायम भएका छन्। दाबी-विरोध, संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले अन्तिम विवरण तयार पारेको हो।
महानगर प्रमुख धनराज आचार्यले कार्यपालिकाबाट आवश्यक निर्णय गरी यसै साता जिल्ला समितिमा सिफारिस पठाउने र प्रक्रिया पूरा भए अर्को सातादेखि बस्ती स्थानान्तरणको काम सुरू हुने बताए।
उनले वास्तविक भूमिहीन, भूमिहीन दलित तथा सुकुमबासीको पहिचान गरी कानुनबमोजिम व्यवस्थापन गरिने बताए।
भूमिहीन सुकुमबासी सरोकार समितिका संयोजक प्रेम गुरुङले बसपार्क निर्माणमा आफूहरू बाधक नबन्ने तर स्थानान्तरणअघि वैकल्पिक व्यवस्थापन हुनुपर्ने बताए।
पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो। पाँच दशकसम्म बसपार्क निर्माण हुन नसकेपछि महानगरले अहिले जग्गा खाली गरेर दातृ निकायको सहयोगमा बसपार्क निर्माण गर्ने योजना अघि बढाएको छ।

