
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा आइतबार बिहान पहिरोसँगै ढुङ्गा खसेपछि यातायात सेवा प्रभावित भएको छ।
पहिरोका कारण हाल उक्त सडकमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार सडकमा खसेको पहिरो र ढुङ्गा हटाउने काम तत्काल सुरु गरिएको छ। थप ढुङ्गा नखसेमा केही समयभित्र सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए।
नारायणगढ-मुग्लिन सडक वर्षायाममा पहिरोको उच्च जोखिममा रहने भएकाले यस मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
