Nepal Purbadhar

बाढीले पुल बगाएको १५ दिन पुग्न लाग्दा पनि बनेन, केरौँजा र रुन्चेतका बासिन्दा समस्यामा


गोरखा। बुढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको १५ दिन हुन लाग्दासमेत पुनर्निर्माण नहुँदा गोरखाको धार्चे गाउँपालिका-२ केरौँजा र रुन्चेत क्षेत्रका बासिन्दा समस्यामा परेका छन्। पुल नहुँदा स्थानीयको आवतजावतसँगै दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ढुवानीमा कठिनाइ भएको छ।

असोज २५ गते आएको बाढीले धार्चे गाउँपालिका-२ को मुख्य आवागमन मार्गका रूपमा रहेको झोलुङ्गे पुल बगाएको थियो। पुल क्षतिग्रस्त भएपछि केरौँजा र आसपासका बस्तीको अन्य क्षेत्रसँगको सम्पर्क प्रभावित बनेको छ। स्थानीयका अनुसार खोर्लाबेंसीमा रहेको अर्को पुलसमेत बाढीले बगाएको छ।

माथिल्लो क्षेत्रमा रहेको लुचेकको पुलबाट पैदल आवतजावत गर्न सकिने भए पनि त्यसबाट यात्रा गर्न सहज छैन। मुख्य आवागमन मार्ग अवरुद्ध हुँदा स्थानीयलाई दैनिक कामकाज गर्न र आवश्यक सामग्री ओसारपसार गर्न समस्या भइरहेको छ।

विशेषगरी खच्चडमार्फत सामान ढुवानी गर्न नसक्दा स्थानीयको जनजीवन थप कष्टकर बनेको छ। प्रभावित क्षेत्रमा राहत सामग्री ड्रोनमार्फत पुर्‍याउन थालिएको जानकारी आएको र त्यससम्बन्धी दृश्यसमेत सार्वजनिक भएको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार पुल सञ्चालनमा नआएसम्म केरौँजा र रुन्चेत क्षेत्रका बासिन्दाले सहज रूपमा आवतजावत गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन। आवागमनमा कठिनाइ हुँदा अत्यावश्यक सेवामा पहुँचसमेत प्रभावित भएको उनीहरूको भनाइ छ।

बाढीले क्षति पुर्‍याएको पुल तत्काल पुनर्निर्माण गरी आवागमन सहज बनाउन स्थानीयले सरकारसँग माग गरेका छन्। पुलको अभावमा लामो समयसम्म समस्या भोग्नुपर्ने अवस्था अन्त्य गर्न सम्बन्धित निकायले शीघ्र पहल गर्नुपर्ने उनीहरूको माग छ।


Read Previous

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सर्वसाधारणका लागि खुल्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar