Nepal Purbadhar

मुग्लिन-मलेखु सडकखण्डमा कालोपत्र पुनः शुरू हुने, पहिलो चरणमा ७ सय मिटरबाट काम थालिने

फाईल तस्बीर।


चितवन। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा रोकिएको कालोपत्रको काम पुनः शुरू हुने भएको छ। अलकत्राको अभावका कारण केही समय रोकिएको कामका लागि आवश्यक सामग्री आइपुगेपछि पुनः काम अघि बढाउन लागिएको हो।

नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्मको खण्डमा कालोपत्रको तयारी शुरू गरिएको छ। उनका अनुसार ३० टन अलकत्रा आइपुगेको छ र यही ५ गतेदेखि कालोपत्रको काम शुरू हुने छ।

यस चरणमा तत्काल करिब ७०० मिटर सडक कालोपत्र गरिने योजना छ भने असार महिनाभित्र थप तीन किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको छ।

सडकखण्डमा रहेका छ वटा पुलमध्ये चार वटाको निर्माण अन्तिम चरणमा पुगेको छ। वारवाङ, मौवा, खटौटी र गोमती खोलाका पुलको काम अन्तिम चरणमा पुगे पनि सडकसँग जोड्ने एप्रोच तथा कालोपत्रका काम बाँकी रहेको कार्यालयले जनाएको छ।

हालसम्म मुग्लिन-मलेखु खण्डको करिब ४३ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। कुल ३८.८६ किलोमिटर लम्बाइ रहेको यो खण्ड शर्मा-जेडआईसीजी जेभीले रु ४ अर्ब ८० करोड ५९ लाखमा स्तरोन्नति गरिरहेको हो।

विश्व बैंकको सहयोगमा सञ्चालित यो आयोजना काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गमध्ये एक महत्वपूर्ण खण्ड मानिन्छ। निर्माण म्याद गत डिसेम्बर २८ मा सकिएको भए पनि १८३ दिन थप गरिएको छ।


Read Previous

पासपोर्ट खरिद प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

Read Next

टुँडिखेल हरियाली अभियान तीव्र, दुबो रोपेर खुला क्षेत्रलाई हराभरा बनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar