
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज (जुन ११) बाट शुरू भएसँगै नेपालमा पनि यसको उत्साह देखिन थालेको छ। आगामी ३९ दिनसम्म चल्ने प्रतियोगिताले विश्वभरका फुटबल समर्थकलाई मात्र होइन, नेपाली बजारलाई समेत प्रभावित पारेको छ।

यसपटकको विश्वकप तीन देश अमेरिका, क्यानडा र म्याक्सिकोमा आयोजना हुँदैछ। प्रतियोगितामा ४८ राष्ट्र सहभागी छन् भने कुल १०४ खेल खेलाइनेछन्। जुलाई १९ मा MetLife Stadium मा हुने फाइनल खेलसँगै नयाँ विश्वविजेताको टुंगो लाग्नेछ।

विश्वकप हजारौं किलोमिटर टाढा आयोजना भए पनि नेपालमा यसको प्रभाव स्पष्ट देखिएको छ। राजधानी काठमाडौंसहित विभिन्न शहरका खेल सामग्री पसलमा विभिन्न देशका जर्सी किन्नेहरूको भीड बढ्न थालेको व्यवसायीहरू बताउँछन्। समर्थकहरू आफ्नो मनपर्ने टोली र खेलाडीको जर्सी लगाएर सामाजिक सञ्जालमा फोटो तथा भिडियो पोस्ट गर्न व्यस्त छन्।

बजारमा उपलब्ध जर्सीको मूल्य गुणस्तरअनुसार फरक-फरक रहेको छ। सामान्य प्रतिकृति (रेप्लिका) जर्सी तीन-चार सय रुपैयाँदेखि शुरू हुन्छ भने उच्च गुणस्तरका जर्सीको मूल्य तीन–चार हजार रुपैयाँसम्म पुगेको छ।

विश्वकप शुरू भएसँगै फुटबलप्रेमीहरूबीच आफ्नो रोजाइको टोलीबारे बहस, खेल हेर्ने योजना र जर्सी खरिदको लहर बढेको छ। प्रतियोगिता अगाडि बढ्दै जाँदा नेपाली बजारमा फुटबलसम्बन्धी सामग्रीको कारोबार अझ बढ्ने अपेक्षा गरिएको छ।

तस्बिर : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

