Nepal Purbadhar

चीनको निर्यात व्यापारमा देखिएन मध्यपूर्व द्वन्द्व असर, मे महिनामा १९.४ प्रतिशतले वृद्धि


बेइजिङ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व व्यापार र आपूर्ति शृङ्खलामाथि दबाब बढिरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षाभन्दा बलियो रूपमा वृद्धि भएको छ। मङ्गलबार सार्वजनिक सरकारी तथ्यांकअनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १९.४ प्रतिशतले बढेको छ।

चीनको भन्सार प्रशासन (जीएसी) का अनुसार अप्रिलमा १४.१ प्रतिशत रहेको निर्यात वृद्धिदर मे महिनामा बढेर १९.४ प्रतिशत पुगेको हो। ब्लुमबर्गले अर्थशास्त्रीहरूमाझ गरेको सर्वेक्षणमा १५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको थियो। वास्तविक तथ्यांक भने अनुमानभन्दा उल्लेख्य रूपमा माथि देखिएको छ।

आयाततर्फ पनि चीनले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। मे महिनामा आयात वार्षिक आधारमा २७.४ प्रतिशतले बढेको छ, जुन ब्लुमबर्गको २६ प्रतिशतको पूर्वानुमानभन्दा उच्च हो। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबुत विस्तारले चीनको अर्थतन्त्रमा बाह्य व्यापार अझै महत्वपूर्ण आधार रहेको संकेत गरेको छ।

विशेषगरी संयुक्त राज्य अमेरिकातर्फको निर्यात उल्लेखनीय रूपमा बढेको छ। अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पको बेइजिङ भ्रमणका क्रममा व्यापार सम्बन्ध प्रमुख एजेन्डाका रूपमा रहेको अवस्थामा चीनको अमेरिकातर्फको निर्यात एक वर्षको अवधिमा ३५.४ प्रतिशतले वृद्धि भएको जीएसीले जनाएको छ।

तथ्यांकअनुसार मे महिनामा अमेरिकातर्फ चीनको निर्यात ३९ अर्ब अमेरिकी डलर पुगेको छ। गत वर्षको सोही अवधिमा यो रकम २८ अर्ब ८० करोड डलर थियो। त्यसबेला ट्रम्प प्रशासनको व्यापार नीतिका कारण दुई देशबीचको व्यापारिक गतिविधिमा दबाब परेको थियो।

निर्यातमा आएको वृद्धि चीनको अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिएको छ। चीनले लामो समयदेखि उत्पादन र निर्यातमा आधारित आर्थिक वृद्धिको मोडललाई विस्तारै घरेलु उपभोगमा आधारित बनाउने प्रयास गरिरहेको छ। तर अपेक्षाअनुसार आन्तरिक माग बलियो बन्न नसक्दा बाह्य व्यापार अझै पनि अर्थतन्त्रको प्रमुख सहारा बनेको देखिएको छ।

यद्यपि चुनौतीहरू भने कायम छन्। कमजोर घरेलु माग, मध्यपूर्व द्वन्द्वका कारण बढ्दो ऊर्जा लागत तथा अन्तर्राष्ट्रिय ढुवानी व्यवस्थामा देखिएका अवरोधले आर्थिक गतिविधिमाथि दबाब सिर्जना गरिरहेका छन्। आधिकारिक तथ्यांकले दुई महिनाको विस्तारपछि मे महिनामा चीनको उत्पादन क्षेत्रको गतिविधि लगभग स्थिर अवस्थामा पुगेको देखाएको छ।

ऊर्जा तथा रासायनिक उद्योगसँग सम्बन्धित कच्चा पदार्थको मूल्यवृद्धिका कारण कारखानाहरूको उत्पादन लागत बढिरहेको छ। साथै, ढुवानी समस्या र आपूर्ति शृङ्खलामा परेको असरले उत्पादन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको विश्लेषकहरूको भनाइ छ।

यद्यपि यी चुनौतीका बीच निर्यात र आयात दुवै क्षेत्रमा देखिएको अपेक्षाभन्दा राम्रो प्रदर्शनले विश्व आर्थिक अनिश्चितताबीच चीनको बाह्य व्यापार तुलनात्मक रूपमा मजबुत रहेको संकेत दिएको छ।


Read Previous

बक्यौता नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल गरिने

Read Next

डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता तत्काल असुल्न कुलमान घिसिङको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar