
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट ठूलो बाढी आएको छ। बाढीका कारण नदीको बहाव एक्कासि बढेको छ भने क्षतिको विवरण भने आउन बाँकी छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो। बाढीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभएको र अवस्था बुझ्ने प्रयास भइरहेको उनले बताए।
बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
रसुवाको टिमुरे र स्याफ्रुबेँसी आसपासमा समेत बाढीको प्रभावबारे विवरण संकलन भइरहेको जनाइएको छ। नदीको बहाव बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित रहन आग्रह गरिएको छ।
यसैबीच खोज तथा उद्धारलगायतका कामका लागि भन्सार कार्यालय तथा मातहतका निकायसँग आवश्यक समन्वय भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, भन्सार विभागका महानिर्देशक यमलाल भुसाल तथा मन्त्रालय प्रशासनको नेतृत्वमा आवश्यक समन्वय भइरहेको जनाइएको छ।

