Nepal Purbadhar

स्वदेशी रङ उत्पादन कम्पनी एभरेष्ट कलरका उत्पादनले पाए नेपाल गुणस्तर प्रमाण-चिन्ह


काठमाडौं । स्वदेशी रङ उत्पादन कम्पनी एभरेष्ट कलर लिमिटेडका विभिन्न उत्पादनहरूले नेपाल सरकारको नेपाल गुणस्तर प्रमाण–चिन्ह (एनएस) प्राप्त गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीका विभिन्न उत्पादनलाई गुणस्तर प्रमाणित गर्दै एनएस चिन्ह प्रयोग गर्न अनुमति दिएको हो।

चितवनको खैरहनीमा उद्योग रहेको एभरेष्ट कलरले यसअघि सन् २०२३ मा अन्तर्राष्ट्रियस्तरको आईएसओ ९००१:२०१५ (क्वालिटी म्यानेजमेन्ट सिस्टम) प्रमाणपत्र प्राप्त गरिसकेको थियो। अब राष्ट्रियस्तरको गुणस्तर प्रमाण–चिन्ह प्राप्त गरेसँगै कम्पनीको विश्वसनीयता थप सुदृढ भएको कम्पनीले जनाएको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा स्वीकृत इजाजतपत्रअनुसार कम्पनीले जेठ १८ गतेदेखि विभिन्न ब्रान्डका ५०० एमएल, १ लिटर, ४ लिटर, १० लिटर र २० लिटर क्षमताका उत्पादनमा नेपाल गुणस्तर चिन्ह प्रयोग गर्न पाउने भएको छ।

विभागका अनुसार इनामेल पेन्टअन्तर्गत ‘जुरेली’ र ‘एभरल्याक ब्रिलियन्ट ग्लोस इनामेल’ ब्रान्डले एनएस चिन्ह प्राप्त गरेका छन्। त्यस्तै प्लास्टिक इमल्सन पेन्टतर्फ ‘बेल इन्टेरियर इमल्सन’, ‘स्याफायर लक्जरी इन्टेरियर पेन्ट’, ‘डेजी प्रिमियम इन्टेरियर इमल्सन पेन्ट’, ‘एभरसाइन लास्टिङ एक्स्टेरियर वाल कोटिङ’, ‘एभरगार्ड प्रिमियम एक्स्टेरियर इमल्सन’, ‘एभरटप सुपर प्रिमियम एक्स्टेरियर इमल्सन’ तथा ‘एभरस्टार प्रिमियम एक्स्टेरियर इमल्सन’ ले पनि गुणस्तर प्रमाण–चिन्ह प्राप्त गरेका छन्।

यसैगरी, ‘डीटीएस प्राइमर’ सिमेन्ट प्राइमर र ‘वन कोट वुड प्राइमर’ लाई पनि नेपाल गुणस्तर प्रमाण–चिन्ह प्रदान गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोज लुइटेलले यो उपलब्धि उपभोक्ता, डिलर तथा प्राविधिकहरूको विश्वास र सहयोगको परिणाम भएको बताए। उनका अनुसार नेपाल सरकारले तोकेको कडा मापदण्ड पूरा गरेपछि मात्र प्राप्त हुने एनएस चिन्हले एभरेष्ट कलरका उत्पादन सुरक्षित, गुणस्तरीय र भरपर्दो रहेको पुष्टि गरेको छ।

एभरेष्ट कलरले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारीसमेत गरिरहेको जनाएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ।


Read Previous

बजेटमा आईटी क्षेत्रका सकारात्मक व्यवस्था स्वागतयोग्य, थप सुधार आवश्यक : नास-आईटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar