Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग


 काठमाडौं । आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै स्वदेशी लगानीकर्ता उत्साहित देखिएका छन् । पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेलामा लगानी सम्मेलनले लगानीको जोह गर्ने हुँदा उनीहरू थप उत्साहित बनेका हुन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत् आयोजनाहरुमा लगानीको वातावरण तय गर्न सम्मेलनले तय गर्ने भन्दै यसले लगानीकर्तालाई थप उत्साहित बनाएको बताए । “उद्घाटन समारोहमा नै प्रधानमन्त्रीज्यूले नै जलविद्युत्मा लगानीको सम्भावनाबारे स्पष्ट पारिसक्नुभएको छ, यसले पनि लगानी सम्मेलनमा जलविद्युत्को आयोजनाहरुलाई प्रथामिकता दिइएको स्पष्ट हुन्छ,” उनले भने, “जलविद्युत् आयोजनाहरुलाई आवश्यक लगानी जुटाउन सम्मेलनले सहयोग पुग्ने छ तर सरकारले लगानीमैत्री वातावरणको विश्वास दिलाउन सक्नुपर्छ ।”

अध्यक्ष कार्कीले सरकारले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएकोमा याे लक्ष्य पूरा गर्न स्वदेशी निजी लगानीकर्ताकाे पनि महत्त्वपूर्ण भूमिका रहने बताए । याे लक्ष्य कार्यान्वयन गर्नका लागि पनि सम्मेलनले सहयोग गर्ने उनकाे भनाइ छ ।

जलविद्युत् उद्यमी तथा इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गरागाईंले लगानी सम्मेलनले नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी व्यवसायीका लागि ढोका खुलेको बताए । यसले निजी लगानीकर्तालाई उत्साह बढाएको उनकाे भनाइ छ ।

“यो तेस्रो लगानी सम्मेलन त सुरुआत मात्रै हो । जलविद्युत्मा आवश्यक पर्ने लगानीका लागि थुप्रै काम गर्न बाँकी नै छ,” उनले भने , “सम्मेलनमा नेपाली व्यवसायहरुसँग मिलेर विदेशी व्यवसायीहरुले सहकार्य गर्ने मौका पनि जुर्ने विश्वास छ, यसले नेपालको जलविद्युत् क्षेत्रमा निकै सहयोग पुग्ने छ ।”

जलविद्युत्मा सबै किसिमका उद्योगीहरु लगानी गर्न उत्साहित देखिएका भन्दै उनले यसमा चाँडोभन्दा चाँडो धेरै परियोजना बनाउनुपर्नेमा जोड दिए । “जलविद्युत् क्षेत्रमा विदेशी लगानीकर्ता लगानी गर्न उत्सुक देखिएका छन् । अब जलविद्युत्मा लगानी गर्नका लागि अझै थप उत्साहित हुने वातावरण तय गर्न आवश्यक छ,” उनले भने ।

निजी क्षेत्रले अध्ययन गरे सबै आयोजना निर्माणमा जान योग्य बनाइसकेको भन्दै उनले स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल बढाउने किसिमको नीतिगत व्यवस्था गर्न आग्रह समेत गरे ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ सुरु भएको तेस्रो लगानी सम्मेलन साेमबारसम्म चल्नेछ । सम्मेलनमा लगानीका निम्ति १५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ ।

बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छभने १९ परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।


Read Previous

मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

Read Next

उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति   

Leave a Reply

Your email address will not be published.