Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

निर्माण व्यवसायीले भुक्तानी पाएपछि बागलुङका ४ सडक आयाेजनाकाे काम सुचारु


बागलुङ । सरकारले निर्माण व्यवसायीकाे पाउनु पर्ने रकम भुक्तानी गरेपछि बागलुङका ४ ठूला सडक आयाेजनाकाे काम सुचारु भएकाे छ । गत आर्थिक वर्ष काम गरेकाे रकम भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार कम्पनीहरूकाे रकम अहिले भुक्तानी भएपछि काम सुचारु भएकाे हाे ।

रकम भुक्तानीपछि जिल्लामा निर्माणाधीन ठूला सडक निर्माणले पुनः तीव्रता पाउने अपेक्षा गरिएकाे छ । सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका साबिक धौलागिरि अञ्चलका तीन जिल्लाका चार ठूला सडक कालोपत्रको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता दिएका छन् ।

एक अर्ब १९ करोड रुपैयाँ रकममा छुट्टाछुट्टै मितिमा सम्झौता भएका ‘एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक’ अन्तर्गतका ४ सडककाे निर्माण ठेक्का पाएका कम्पनीले गत वर्षको भुक्तानी पाएपछि कामले गति लिन थालेको छ ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत पर्ने बजार–सिगाना–चापाखर्क–शान्तिपुर जोड्ने सडक र म्याग्दीको रत्नेचौर–ज्यामरुककोट–भकिम्ली हुँदै बराङ्जा जाने सडकको गत वर्षको मात्रै ७ करोड १२ लाख ४७ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी थियो । सिगानाको ३ करोड ३१ लाख ३ हजार रुपैयाँ र म्याग्दी सडकको ३ करोड ८१ लाख ४४ हजार रुपैयाँ भुक्तानी गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुरानो रकम भुक्तानी पाएसँगै निर्माण व्यवसायी काममा फर्केर सडकको पहिरो हटाउने, बिग्रे–भत्केको मर्मत गर्ने काममा जुटेका हुन् । बागलुङ क्षेत्र नं २ अन्तर्गत पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक र मुस्ताङको रणनीतिक सडकअन्तर्गत पर्ने लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा समेत कामले तीव्रता पाउने भएको छ ।

ठेक्कामा गएर कामले गति लिएका सडकमा बजेट अभावले करिब ८ महिना ढिलाइ भएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले बताए । उनका अनुसार गत वर्षको दायित्व भुक्तानी भएसँगै निर्माण व्यवसायी काममा फर्किएका छन् । घिमिरेका अनुसार अर्थ मन्त्रालयले दायित्व भुक्तानीका लागि बजेट थप गरेपछि तीन जिल्लाका चार ठूला सडकले तीव्रता पाउने भएका छन् ।

“बागलुङका दुई, म्याग्दी र मुस्ताङ्को एक/एक सडकका लागि चालु आवमा ४ करोड रुपैयाँ बजेट आएको थियो । एक अर्ब १९ करोड रुपैयाँमा सम्झौता भएको सडकमा जम्मा एक/एक करोड बजेट आएको थियो । सडकको भुक्तानी मात्रै रु सात करोड बढी भएकाले निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौँ”, घिमिरेले भने, “निरन्तरको ताकेताले दायित्व भुक्तानी गर्न सफल भयौँ । निर्माण व्यवसायीले कामलाई तिव्रता दिएसँगै आगामी असार मसान्तसम्म सिगाना, म्याग्दीको सडक कालोपत्रका लागि तयारी हुनेछ ।”

बागलुङको मल्म र मुस्ताङको सडकको ५० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए । संघिय सरकारअन्तर्गत विसं २०७९ मा सुरु भएका ३ जिल्लाका ४ ठूला सडकअन्तर्गत बागलुङबजार अदालत चौपारी–सिगाना–चापाखर्क– गाजाको दह हुँदै बरेङ शान्तिपुर जोड्ने सडकको हालसम्म ४८ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ । १० किलाेमिटरकाे याे सडक कालोपत्र गर्न २९ करोड ३७ लाख ८८ हजार रुपैयाँमा सम्झौता भएको थियो ।

बागलुङ क्षेत्र नं २ अन्तर्गत हरिचौर बजार, मल्म, पाण्डवखानी–रमुवा–रणसिंह किटेनी हुँदै निसीखोलाबाट प्यूठान जोड्ने सडक  २०७९ मा २५ करोड २० लाख रुपैयाँमा सम्झौता भएको थियो । उक्त सडकमा हालसम्म १८ प्रतिशत भौतिक प्रगति भएको छ ।

त्यस्तै, म्याग्दीको रत्नेचौर–ज्यामरुककोट, भकिम्ली हुँदै बराङ्जा जाने सडकको पूर्वाधार निर्माण अन्य तीन सडकको तुलनामा सबैभन्दा बढी रहेको छ । करिब ४५ प्रतिशत भौतिक प्रगति गरेको उक्त सडकको निर्माण व्यवसायीले गत वर्षको मात्रै ३ करोड ८१ लाख ४४ हजार रुपैयाँ भुक्तानी अहिले पाएको डिभिजन प्रमुख घिमिरेले जानकारी दिए ।

मुस्ताङको लेतेस्थित थासाङ गाउँपालिका–२, ३, ४ र ५ मा पर्ने छयो, कुन्जे, टिटी, धम्पु हुँदै कोखेटाटी पुग्ने सडकमा हालसम्म २२ प्रतिशत भौतिक प्रगति भएको छ । ३ वर्षमा कालोपत्र गर्नेगरी रु ३८ करोड ८८ लाख ६१ हजारमा निर्माण व्यवसायीसँग सम्झौता भएको थियो ।


Read Previous

चिसापानीदेखि गड्डाचौकीसम्मका पुराना १४ पुलकाे मर्मत चल्दै  

Read Next

५ दिनमा धुलिखेल-खावा सडककाे ठेक्का सम्झाैताकाे म्याद सकिँदै, प्रगति २० प्रतिशत   

Leave a Reply

Your email address will not be published.