Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

नारायणगढ-मुग्लिन सडक आजदेखि नियमित सञ्चालन हुने


भरतपुर । तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो ४ घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ ।  नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) मा पहाड खन्ने कार्य पूरा भएकाले सडक नियमित सञ्चालन हुने भएकाे हाे ।

पहाड काट्ने काम लगभग सकिएकाले अब दैनिक सडकमा यातायात राेक्नु नपर्ने हुँदा बाटो बन्द नगर्ने निर्णय भएको सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यले जानकारी दिए । “अब पहाड काट्न एक÷दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनुपर्ने अवस्था रहेन”, उनले भने ।

तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न गत वर्ष र यस वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । ६० मिटर अग्लो पहाड काट्न गत वर्ष गत पुस ५ देखि फागुन २० गतेसम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।

तुइन खोलामा ६० मिटरको लम्बाइको पुल बन्ने आयोजनाका इन्जिनियर विजय दराईले जानकारी दिए । यस सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो ।

बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । अहिलेसम्म आठ पुल निर्माण भएर गाडी गुडिरहेका छन् । छ पुलमा गाडी गुड्ने चरणमा आइपुगेको उनले बताए । कडा चट्टानका कारण तुइन खोलाको पुल निर्माणमा समस्या आएको उनले बताए ।

२०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपैयाँ  छ । सडक विस्तार गरेसँगै यो सडकखण्ड नौदेखि ११ मिटर फराकिलो बनेको छ । तराईलाई राजधानीसँग जोड्ने यो प्रमुख सडकका रूपमा रहेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्दछन् ।


Read Previous

तनहुँ जलविद्युत आयोजनाको ५१ प्रतिशत निर्माण पूरा

Read Next

टेलिकमले ३४ विमानस्थलमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

Leave a Reply

Your email address will not be published.