Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

हिमालयन हाइड्रो एक्स्पोकाे तयारी सुरु,विद्युतकाे बाह्य बजार र लगानी वृद्धिमा टेवा पुग्ने अपेक्षा


काठमाडाैं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले आगामी बैशाख दाेस्राे साता हुने चाैंथाे संस्करणकाे हिमालयन हाइड्राे एक्स्पाेकाे तयारी सुरु गरेकाे छ । इपानले एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिसँग मिले आयोजना गर्न लागेकाे एक्स्पाेकाे तयारी सुरु गरिएकाे हाे ।

२०८१ साल बैशाख १२ देखि १४ गते (तदनुसार अप्रिल २४ देखि २६ तारिख) सम्म राजधानीको भृकुटीमण्डपमा चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ हुने  बुधबार संयुक्तरूपमा आयोजना गरिएकाे पत्रकार सम्मेलनमा जानकारी दिइयाे । चाैंथाे संस्करणकाे एक्स्पाेकाे नारा “समृद्धिका लागि हरीत ऊर्जा” दिइएकाे छ ।

जलविद्युत उत्पादनमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयाे । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेको सन्दर्भमा ऊर्जा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको इपान अध्यक्ष गणेश कार्कीले बताए ।

“भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट विद्युत निर्यात गर्ने गरी तथा देशभित्र पनि १३ हजार ५०० मेगावाट विद्युत  खपत गर्ने योजना सरकारले अघि सारेको छ,”उनले भने, “नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता पनि भर्खरै भएको छ । यस्तो अवस्थामा जलविद्युत  उत्पादन बढाउनु पर्दे देशकाे आवश्यकता भएकाले  स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न एक्स्पाेले भूमिका खेल्ने अपेक्षा लिएका छाैं ।”

हाल २९ सय १ मेगावाट विद्युत प्रसारण प्रणालीमा जडान भइसकेकाेमा निजी क्षेत्रबाट मात्र सोलारसहित १७१  विद्युत आयोजना सम्पन्न भई २२ सय १४ मेगावाट जडान भइसकेकाे हुँदा सरकारी लक्ष्य भेट्टाउन याे क्षेत्रमा थप लगानी चाहिएकाले एक्स्पाेमा ऊर्जा क्षेत्रसँग सम्बन्धित ऋण लगानी गर्ने बैंक, परामर्शदाता, हाइड्राे तथा इलेक्ट्राेमेकानिकल उपकरण उत्पादक एवं निर्यातकर्ता, निर्माण उपकरण बिक्रेता, जलविद्युत उद्यमी सबैकाे सहभागिता रहने इपान उपाध्यक्ष आशीष गर्गले बताए ।

निजी लगानीका ३३ सय ९७ मेगावाट बराबरका १३१ आयोजना निर्माणाधीन छन् । ३६ सय १५ मेगावाट बराबरका १३८ आयोजना विद्युत खरिद सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको चरणमा छन् ।

करिब १९ हजार ६२३ मेगावाट बराबरका २५८ आयोजना निजी क्षेत्रबाट अनुमतिपत्र लिएर निर्माणको विभिन्न चरणमा भए पनि नतिजाउन्मुख अवस्था नभएको पनि गर्गले बताए । “तथ्यांक एकातिर छ, वास्तविकता अर्कैतिर भएको अवस्थामा सरकारको विद्युत उत्पादनको लक्ष्य पूरा गर्न ठुलो लगानी आवश्यक छ, यसलाई सघाउन पनि इपानले एक्स्पो आयोजना गर्न लागेको हो”, उनले भने ।

नेपालका साथै विभिन्न मुलुकका ऊर्जा सम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत एक्स्पोले सहजता ल्याउने इपान महासचिव बलराम खतिवाडाले बताए ।  जलविद्युतको बजार बिस्तारका साथै बाह्य लगानीमा सहकार्यको अवसर पनि एक्स्पोले उजागर गर्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।

सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने इप्पानको योजना रहेको खतिवडाले बताए ।

नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इपानकाे अपेक्षा छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक तथा वित्तीय संस्था, सिमेण्ट, डण्डी लगायतका २०० स्टल रहने र ती मध्ये झण्डै ५० प्रतिशत विदेशी स्टल हुने इपानले जनाएकाे छ ।

इभेण्ट सोलुसन प्रालिले व्यवस्थापन गर्ने एक्स्पोको स्टल बुकिङ बुधबारदेखि नै खुल्ला गरिएको एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रा. लि. का प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । स्टलका साथै एक्स्पोका सम्बन्धमा जानकारी लिन चाहने प्रदर्शकहरुलाई इप्पान तथा इभेण्ट सोलुसन प्रालिमा सम्पर्क गर्न पनि प्रधानले आग्रह गरेका छन् ।

एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरु सहभागि हुनेछन् । हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणा बारे विद्यार्थीहरु एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछ ।

जलविद्युतका लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो राख्ने सबैका लागि जानकारीको केन्द्र बन्ने एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोबाट २५ अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन, निर्माण उपकरण तथा प्रविधिको आदान प्रदान हुने इप्पानको अपेक्षा छ ।

यस अघि सन् २०१७, २०१८ र २०२२ मा एक्स्पोको तीनवटा संस्करण सफलतापुर्वक आयोजना भइसकेका छन् ।


Read Previous

ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै

Read Next

नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउने गरी परियाेजना छनाेट गर्न अर्थमन्त्रीकाे निर्देशन

Leave a Reply

Your email address will not be published.