Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

ठेकेदारकाे कमजाेर कार्य सम्पादनले २ पटक म्याद थपिँदा पनि नारायणगढ-बुटवल सडककाे प्रगति ४६ प्रतिशत मात्रै


काठमाडाैं । चिनियाँ ठेकेदारले सम्झाैता अनुसार काम नगर्दा नारायणगढ-बुटवल सडक विस्तार गर्ने याेजना ५ वर्षमा ४६ प्रतिशत मात्रै पूरा भएकाे छ । चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले निर्माण सम्पन्न भइसक्नु पर्ने बेलासम्ममा पनि सडक विस्तारकाे आधा काम पनि सम्पन्न गर्न नसकेकाे हाे ।

ठेक्का सम्झाैता हुँदाकाे मितिले २०७९ साउन २२ मा सम्पन्न भइसक्नु पर्नेमा पटक-पटक म्याद थप गर्दा समेत भाैतिक प्रगति कम देखिएकाे छ । सडक विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ।

पहिलोपटक थप गरिएको समय २०८० भदौ १२ गते सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय तालिका २०८१ साउन ८ गते पुर्‍याइएको नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले बताए । ‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको ५ वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि पनि ठेकेदारले ५८ याे अवधिमा प्रतिशत काम गर्ने प्रतिबद्धता जनाएकाे भए पनि त्यो पूरा गर्न सकेको छैन।’

ठेकेदार कम्पनीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब ५ महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २०.३८ किलोमिटर मात्रै भएको  खनालले बताए।

‘ठेकेदार कम्पनीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम गरेको छैन,’ उनले भने, ‘उसकाे योजना र हामीले गर्नका लागि भनेको योजना पनि फरक छ। निर्माण व्यवसायी आफैंले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन।’ सडक विस्तारका लागि चालकसहितका सबै कामदार गरी ६ सय २६ जनामात्रै निर्माणमा संलग्न रहेको उनले बताए।

‘ठेकेदार कम्पनीले एक हजार पाँच सय ४१ कामदार आवश्यक पर्छ भनेर भनेको थियो। तर हामीले दुई हजार दुई सय मजदुर आवश्यक पर्ने प्रक्षेपण गरेका थियौं,’ उनले भने, ‘आफैंले बनाएको कार्ययोजनासमेत निर्माण व्यवसायीले पूरा गर्न सकेको देखिएन।’

सडक विस्तारका लागि योजनाले पेभर (कालोपत्र गर्ने उपकरण) दुईवटा आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले एउटा उपकरणबाट मात्रै कालोपत्र गरेको, ग्रेडर (सडक सम्याउने उपकरण) योजनाले २५ वटा आवश्यक पर्ने भनेकामा ठेकेदार कम्पनीले १६ वटाबाट काम गर्ने जनाएकामा जम्मा ७ वटा ग्रेडरको प्रयोग भएको उनले बताए।

त्यस्तै, स्काभेटर (माटो खन्ने उपकरण) ४० आवश्यक पर्नेमा निर्माण व्यवसायीले २६ वटाबाट काम गर्छौं भन्दै नौवटामात्रै प्रयोग गरेको, रोलर (कालोपत्र गर्नुअघि सडक सम्याउने उपकरण) ४५ वटा आवश्यक पर्ने भनिएकामा २६ वटाबाट काम गर्छौं भनेपनि ९ वटा रोलर मात्रै सडकमा प्रयोग गरेको खनालले बताए। ठेकेदार कम्पनीले आफैंले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको खनालको भनाइ छ।

‘कार्यतालिकाअनुसार काम गर्न र आयोजनाको काम समयमै सम्पन्न गर्न हामीले निरन्तर दबाब दिइरहेका छौं,’ उनले भने, ‘निर्माण व्यवसायीले लो बिडिङ (कम मूल्य) मा ठेक्का सकारेका कारण उसले नगद प्रवाह गर्न नसक्दा भनेअनुसार काम गर्न सकेको छैन।’

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रोपटक थप भएको समयमा सडक विस्तारको काम नसकिने जानकारी दिँदै अझै एक वर्ष म्याद थप्नुपर्ने बताए।

‘सडक विस्तारको सुरुआती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो, अहिले पनि मौसमका कारण सडकको काम तीव्ररुपमा गर्न सकिएको छैन,’ उनले भने, “‘कावासोती, प्रगतिनगरलगायत ठाउँमा कालोपत्र गर्न तयारी गरिएको भए पनि रातिमा शीत खस्ने र मौसम चिसो भएका कारण कालोपत्र गर्न सकिएको छैन।’ ८ साउन २०८१ सालसम्म आयोजनाको करिब ७० प्रतिशत काम पूरा गर्नेगरी आफूहरु खटिएको उनको भनाइ छ।

‘साउनसम्म हामीले गैंडाकोटबाट दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्नेगरी काम गरिरहेका छौं,’ उनले भने, ‘त्यसपछिको बाँकी काम ८१ चैतभित्र सकाउने हाम्रो योजना छ।’ सडक विस्तार गर्ने केही ठाउँमा खानेपानी र बिजुलीको पोल सार्ने काम बाँकी रहेको भन्दै उनले साइड क्लियर भएको ठाउँमा काम धमाधम अघि बढेको जानकारी दिए।

‘यो फेब्रुअरीसम्म सिजी, गैंडाकोट र दुम्कीबास क्षेत्रमा ३० केभी प्रसारण लाइन सार्ने काम सकिन्छ,’ उनले भने, ‘विद्युतको पाँच किलोमिटर पोल सार्ने र खानेपानीको ६ किलोमिटर पाइप सार्ने कामपछि सडकका सबै बाधा सकिन्छन्।’

आयोजनाअन्तर्गत अहिले बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, पहाडको भित्तो काट्ने, पर्खाल लगाउने, सडक किनारमा ग्याभिन भर्ने, बस वे ९सवारीसाधन रोक्ने ठाउँ० बनाउने, कालोपत्र गर्ने सडक खन्ने र नयाँ बनाउने, माटो भर्ने, बेस र सब बेसको काम भइरहेको उनको भनाइ छ। नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक रहेको छ। विसं २०१८ मा गैंडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गर्नुभएको सडक करिब ५८ वर्षपछि एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ।

४ लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ। तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ। हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ ७/७  मिटरको हुनेछ। बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ। बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ।

सडकको ४२.७ किलोमिटर खण्ड ४ लेनको हुनेछ भने दाउन्ने खण्डको करिब ५ किलोमिटर सडक ३ लेनको हुने सूचना अधिकारी खनालले बताए। यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन्। सडकका विभिन्न स्थानमा निर्माण हुने दुई सय १५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ । एसियाली विकास बैङ्क (एडिबी) को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण सुरु भएको यस सडक खण्डको कूल लागत ९ अर्ब ३८ करोड रुपैयाँ  रहेकामा हालसम्म ३ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ आर्थिक प्रगति भएको खनालले जानकारी दिए।


Read Previous

निसीखोलामा ४ वर्षमा बने १८ झोलुङ्गे पुल,स्थानीयकाे जनजीवन सहज

Read Next

हिमालयन हाइड्रो एक्स्पोकाे तयारी सुरु,विद्युतकाे बाह्य बजार र लगानी वृद्धिमा टेवा पुग्ने अपेक्षा

Leave a Reply

Your email address will not be published.