Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे संरचनामा पानी भरेर परीक्षणकाे तयारी


काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे संरचनामा पानी भरेर परीक्षण सुरु हुँदैछ ।  नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेकाे याे आयोजनाकाे सुरुङमा पानी पठाएर परीक्षण सुरु गर्न लागिएकाे हाे ।

साेमबारदेखि आयोजनाकाे सुरुङमा पानी भर्न सुरु गर्ने तयारी भइरहेकाे कम्पनीका प्रतिनिधि उपेन्द्रराज गौतमले जानकारी दिए । “सम्पन्न भएकाे आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न संरचनामा पानी भरेर परीक्षण गर्दैछाैं । याे अवधिमा छोटेपादेखि दोविल्नासम्म नीलगिरि खोलाको पानीको बहाव थपघट हुने भएकाले माछा मार्ने, नुहाउने, गाईवस्तु, चौपाया छाड्ने र आवत-जावत नगर्न स्थानीयमा अनुरोध गरेका छौं ,”उनले भने ।

आयोजनाकाे बाँध, सुरुङ, विद्युतगृह, विद्युत प्रवाह हुने प्रसारण लाइन, स्विचार्ड लगायत संरचनाकाे निर्माण पूरा भएपछि नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीकाे उपस्थितिमा परीक्षण सुरु भएकाे हाे ।

छोटेपामा निर्माण भएको डिसेन्डर (बालुवा थिग्र्याउने पोखरी) मा यसअघि नै पानी हालेर परीक्षण गरिसकिएकाे छ । छोटेपादेखि दोभिल्नामा रहेको विद्युत्गृहसम्म ४.२७५ किलाेमिटर लामो सुरुङ निर्माण गरिएकाे छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो ।

नीलगिरि पहिलोको पनि हुमखोलामा बाँध र छोटेपामा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । विद्युत्गृहको भवन निर्माण सकेर उपकरण जडान थालिएको छ । नीलिगिरि पहिलोको करिब ८० प्रतिशत भौतिक प्रगति भएको छ । दुईवटै आयोजनाको विद्युत्गृह परिसरमा स्विचार्ड बनाइएको छ । नीलगिरि पहिलोको स्विचार्डमा गत बर्खामा पहिराले क्षति पुर्याएको थियो ।

१३ अर्ब रुपैयाँ लागत अनुमान गरिएका दुवै आयोजना रन अफ रिभर प्रकृतिका हुन् । नीलिगिरिखोलाबाट उत्पादन भएको विद्युत २२० केभी  दाना सबस्टेसनमार्फत केन्द्रीय प्रसारण प्रणालीमा जोडिनेछ । छोटेपा–दोबिल्ना हुँदै दाना सबस्टेसन जोड्ने ७.४ किलोमिटर लामाे २२० केभी  प्रसारण लाइन प्रवर्द्धक कम्पनीले  निर्माण गरेकाे छ ।

म्याग्दीकाे नारच्याङमा यसअघि पाँच मेगावाट क्षमताको घलेम्दीखोला र ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ सञ्चालनमा छन् । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेकाे छ।

९.१४ मेगावाटको सुपर घलेम्दी आयोजना निर्माणको तयारीमा छ । कालीगण्डकी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १६४ मेगावाटको कालीगण्डकी गर्ज आयोजनाको विद्युत्गृह नारच्याङमा बनाउन प्रस्ताव गरिएको छ । मिस्त्री खोलाको प्रवद्र्धक माउन्टेन इनर्जी नेपालले १२ मेगावाटको मिस्ट्री खोला–२ आयोजना निर्माण गर्दैछ ।


Read Previous

विद्युत होइन,आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विधेयक ल्याइयो

Read Next

ठेक्का रद्द भएपछि बिहुँखण्ड सडक कालोपत्र गर्ने कार्य अलपत्र,आक्रोसित स्थानीयले रोके मुख्यमन्त्रीको गाडी   

Leave a Reply

Your email address will not be published.