Nepal Purbadhar

आइतवार, फाल्गुन १३, २०८०
Sunday, February 25, 2024

आइतवार, फाल्गुन १३, २०८०
Sunday, February 25, 2024

चालू आवकाे ६ महिना सकिँदा कामपाले उठायाे ५ अर्ब राजस्व


काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा करिब ५ अर्ब रुपैयाँ राजश्व संकलन गरेकाे छ । महानगरपालिकाले साउनदेखि पुस मसान्तसम्मकाे अवधिमा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ बराबर राजस्व असुल गरेको हाे ।

महानगरपालिकाले ६ महिनामा संकलन गरेकाे राजश्व अघिल्लाे आर्थिक वर्षको यही अवधिकाे तुलनामा ३५ कराेड रुपैयाँ बढी भएकाे महानगरका राजस्व विभाग प्रमुख धुव्र काफ्लेले जानकारी दिए । महानगरपालिकाले गत आर्थिक वर्षको ६ महिना सकिँदा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुल गरेको थियो । उनका अनुसार सबैभन्दा बढी बहाल करमा १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा ६७ करोड १७ लाख २० हजार रुपैयाँ असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको संख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । महानगरपालिकाले चालू आवका लागि १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा ९ अर्ब ८ करोड ७० लाख १३ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो ।

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने महानगरपालिकाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालू आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनकाे भनाइ थियो ।

यसवर्ष महानगरपालिकाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ । पछिल्लो समय कामपाले राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको काफ्लेले बताए ।

महानगरपालिकाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका–२०७९’ जारी गरेसँगै बहाल करबापतको रकम सङ्कलन हुन थालेको जनाइएको छ । निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दवैका बारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्ने छ ।

लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरधनी र एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारेसमेत उल्लेख गरेको हुनुपर्ने छ ।


Read Previous

भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक श्रमदानबाट मर्मत   

Read Next

एक वर्षमा मुग्लिन-मलेखु सडकको प्रगति ६ प्रतिशत मात्रै   

Leave a Reply

Your email address will not be published.