Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’


दाङ । वि. सं. २०५९ माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिन निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको उक्त उद्यान (पार्क)मा पछिल्लो समय जिल्लासँगै छिमेकी जिल्लाबाट पनि पर्यटक घुम्न आउने गरेका छन् ।

उद्यानको अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक चार सयदेखि पाँच सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका पार्क व्यवस्थापन समितिले जनाएको छ । पार्कमा दिनहुँ भिड हुने गरेको अनि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या बढिरहेको समितिका कर्मचारी खेतुप्रसाद भण्डारीले बताए । पार्क अवलोकन गर्न आउनेबाट प्रतिव्यक्ति ३० रुपैयाँ शुल्क लिने गरिएको छ । वनभोज खान आउने समूहबाट भने तीन सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ ।

उनका अनुसार अहिले पार्कमा सात जनाले रोजगारी पाएका छन् । सबै व्यवस्थापकीय खर्च कटाएर वार्षिक ४० देखि ४५ लाख रुपैयाँ बचत हुने गरेको भण्डारीले बताए । “पन्ध्र हेक्टर क्षेत्रफलमा फैलिएको उक्त उद्यानको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ”, उनले भने, “राप्ती राजमार्गअन्तर्गत तुलसीपुर सल्यान सडकखण्डको तीन किलोमिटर उत्तरमा श्रीगै गाउँबाट डेढ किमी पूर्वमा पर्ने उक्त पार्कको पूर्व दक्षिण सिमानामा वन तथा जङ्गल, पश्चिम तथा उत्तरतर्फ गणेशपुर गाउँ पर्दछ ।”

भण्डारीका अनुसार पार्कभित्रको उत्तरतर्फ बालबालिकाका लागि बालउद्यानसँगै ‘बेबी रेल’, पिङ, चिप्लेटी र नजिकैमा स्विमिङ पुलको निर्माण गरिएको छ । पार्क वरपर चराचुरुङ्गीको मधुर स्वर सुन्न पाउनुका साथै प्राकृतिक तथा जैविक विविधताले भरिएको रमणीय वातावरण रहेको उनको भनाइ थियो । त्यस्तै, उत्तरतर्फ मिनि चिडियाखाना बनाइएको छ । यसमा चितुवा, दुम्सी, घोरल, खरायो, मृग, चिल, उल्लुलगायत विभिन्न प्रजातिका जनावर र पशुपक्षी राखिएका छन् ।


Read Previous

जुम्ला-मनाङ सडकको काम तीव्रगतिमा हुँदै

Read Next

कर्णाली प्रदेशमा तीन वर्षमा करिव ७९ किलोमिटर सडक कालोपत्र

Leave a Reply

Your email address will not be published.