Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने   इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन

फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालय बनाइने, १ अर्ब रुपैयाँ लागत अनुमान


काठमाडौं । नेपालको पहिलो र एसियाको दोस्रो ५ सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा संग्रहालयको रूपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न लागेकाे हाे ।

प्राधिकरणले याे जलविद्युत केन्द्रलाई जलविद्युत संग्रहालय र पर्यटकीय स्थलकाे रूपमा विकास गर्न एनइए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिने छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत्गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पोट, पुस्तकालय, वाल उद्यानलगायतका संरचनाहरु निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनालाई जीर्णोद्धार गरी संग्रहालयको रुपमा विकास गरिनेछ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब १ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा ३ सय २४ रोपनी जग्गा  छ । पर्यटकीय संरचनाहरु निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युतगृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणको ३८औं वार्षिकोत्सवको अवसरमा फर्पिङ जलविद्युत केन्द्रको परिसरमा सोमबार आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतलाई गुरुयोजनाका विषयमा जानकारी दिइएको थियो । मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युतृगृहलगायतका संरचाहरुको अवस्थाका बारेमा अवलोकन गरेका  थिए ।

मन्त्री बस्नेतले ऐतिहासिक महत्त्व बोकेको विद्युत् केन्द्रलाई संरक्षण गरी जलविद्युत् क्षेत्रका अध्येता, अनुसन्धानकर्ता तथा चासो राख्ने सबैलाई सन्दर्भस्थान र इतिहासलाई बुझ्ने बुझाउने ठाउँका रुपमा विकास गरिनु पर्ने बताए । उनले केन्द्रबाट स्थानीय बासिन्दाको सामाजिक आर्थिक बृद्धि हुने गरी योजना तथा कार्यक्रमहरु कार्यान्वयनमा ल्याइनु पर्नेमा जोड दिए ।

ऊर्जा सचिव घिमिरेले केन्द्रलाई जलविद्युत क्षेत्रको अध्ययन स्थल र त्यहाँ भएको प्राकृतिक सौन्र्दयलाई प्रयोग गर्दै सुन्दर पर्यटकीय स्थलको रुपमा विकास गरिनु पर्ने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा संग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रुपमा विकासका कार्यहरु अगाडि बढाइने उल्लेख गरे ।

फर्पिङ जलविद्युत केन्द्र १९६८ जेठ ९ गतबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्षलगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो ।

केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर, त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युतगृहको सञ्चालन बन्द भएको थियो । केन्द्रको  मर्मतसंभार गरी पुनः २०६३ पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।


Read Previous

माथिल्लो ब्रम्हायणीको इआइए प्रतिवेदन स्वीकृतिको प्रक्रिया अन्तिम चरणमा

Read Next

पेट्रोलियम व्यवसायीलाई अग्नि नियन्त्रण अभिमुखीकरण

Leave a Reply

Your email address will not be published.