Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

बत्तीमुनिको अँध्यारोमा बागलुङको पर्यटन


गलकोट । नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ । पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ । तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा सकैसँग छैन ।

पोखरा आएका धेरै पर्यटक एकदेखि डेढ घण्टाकै दूरीका अन्य जिल्लामा कमै मात्रै पुग्ने गरेका छन् । त्यसो त यो दूरीका जिल्ला र स्थानमा पनि पर्यटक लोभ्याउने अधिक सम्भावना रहेकै छन् । यसो भए पनि संरचनाअर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ । पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ ।

पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ । विभिन्न पर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले खोजेर सूचना प्राप्त गरेर यहाँ आउने गरेका छैनन् । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा सिधै हेलिकप्टरमार्फत विदेशी पर्यटक पुग्दा जिल्लामा पर्यटक आगमनको आभास नै हुँदैन । त्यस्तै अरु कुनै प्याकेज कार्यक्रममा आए भने पनि बाटो मात्र हिँड्छन्, यहाँ बास बस्दैनन् ।

बागलुङमा विदेशी पर्यटक भित्र्याउन पर्यटकीय पूर्वाधार, आतिथ्यता कार्यक्रम, सूचना प्रणालीलगायतको अभाव छ । यी क्षेत्रमा आवश्यक मात्रामा सुधार गर्न सकिएमा पर्यटक यहाँ ल्याउन सकिने यहाँका स्थनीय पर्यटन व्यवसायी तथा जानकार बताउँछन् ।

पोखरा आएका पर्यटक किन आउदैनन् बागलुङ ?

बागलुङ जिल्लामा विदेशी पर्यटक भित्र्यान हालसम्म संस्थागत पहल नथालिएका कारण विदशी पर्यटक नआएको पर्यटन व्यवसायीको भनाइ छ । बागलुङमा पहिलोपटक विदेशी पर्यटक भित्र्याउन पहल गर्नुभएका पर्यटन व्यवसायी महादेव शर्माले पोखरा भित्रिने पर्यटक अधिकांश पोखरा आसपासका क्षेत्रमा आउन नसक्नु भनेको अन्य जिल्लाले नै विदेशी पर्यटक भित्र्याउन पहल नगरेको हो भन्न सकिन्छ भन्छन् ।

‘व्यक्तिगत पहलमा कति पर्यटक आउलान्, मैले भेगन समूहका विदशी पर्यटक बागलुङ ल्याउन थालेको छु, तर यहाँका स्थानीय पालिकाले पहल थाल्न पर्‍यो, निजी क्षेत्रले साझेदारी गर्न पर्‍यो र बागलुङका पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको नजर नपर्नु नै पहिलो कारण देख्छुु’, शर्माले भने, “धार्मिक पर्यटक भित्र्याउन बागलुङमा सहज देख्छु पोखराबाट मुक्तिनाथ जाने वा त्यहाँ पुगेका भारतीय पर्यटक बढी बागलुङ आउने सम्भावना छ, त्यसका लागि आश्रम र सुविधा सम्पन्न शाकाहारी होटल स्थापना गर्न आवश्यक छ ।’

बागलुङमा पर्यटक भित्राउने निजी क्षेत्रको एउटा साझेदार संस्था नहुँनु, प्रचारप्रसारको कमी र बागलुङको महत्व विश्वसामु चिनाउन नसक्नुका कारण बागलुङमा विदेशी पर्यटक आकर्षित हुन नसकेको पाइएको छ ।

‘पोखरा आएको विदेशी पर्यटक बागलुङमा किन र के का लागि जाने भन्ने त हुन पर्‍यो, यहाँको कला संस्कृति हेर्न हो अथवा ग्रामीण पर्यकीय क्षेत्रमा घुम्न, बागलुङमा तीन दिन हिँड्न सक्ने राम्रो पदमार्गको रुट अहिले सम्म रेखाङ्कन छैन’, उनले भने, ‘मैले बागलुङ बजा देखि भकुण्डै हुँदै सिगानाको बौडैचौरदेखि बौरसम्मको दुई दिने पर्यटकीय पदमार्गको रुट बनाएर विदेशी पर्यटक पुर्‍याएको छु, तर पालिकाले विदेशी पर्यटक ल्याउन कुनै चासो दिएको देखिँदैन ।’

यहाँ पर्यटनमा पूर्वाधारका क्षेत्रमा निजी क्षेत्रको लगानी कम देखिन्छ । पर्यटक आए पनि यहाँ बस्ने र घुम्ने ठाउँहरु पनि कमै छन् । उनीहरुको बसाई लम्ब्याउन सकिने खालका पूर्वाधार नहुँदा पर्यटकको आकर्षण बढ्न नसकेकाले पर्यटक बागलुङ आउन नसकेको स्थानीय राम शर्माले बताए । बागलुङको पुरानो संस्कृतिको रुपमा रहेको हनुमान नाच, लाखे नाच, घाटु नाच र शालैजोलाई समय समयमा प्रदर्शन गर्न सकेमा यसबाट स्वदेशी मात्र नभएर विदेशी पर्यटकलाई ल्याउन सकिने शर्माको भनाइ छ ।

सूचना केन्द्र नहुँदा अलमलमा पर्यटक

बागलुङमा भित्रिने विदेशी पर्यटक मात्रै होइन स्वदेशी पर्यटकसमेत अलमलमा पर्ने गरेका छन् । बागलुङ जिल्लाको प्रवेशद्वारमा डिजिटल सूचना केन्द्र राख्न नसक्दा बागलुङ आएका पर्यटक अलमलमा पर्ने गरेको पाइन्छ ।

बागलुङ जिल्लाको कालिका मन्दिर कहाँ छ, पर्यटकीय गन्तव्य पञ्चकोट कहाँ छ, भन्ने विवरणको सूचना केन्द्र स्थापना गरेर राख्न सकिने भए पनि हालसम्म पर्यटक सूचना केन्द्र नहुँदा पर्यटक अलमलमा पर्ने गरेको बागलुङ जिल्लाको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारी बताउँछन ।

‘अहिले डिजिटल जमाना आइसक्यो, यहाँका होटल पुरानै अवस्थाका छन्, गुगल तथा डिजिटल म्यापमा यहाँका होटल देखिँदैनन्, विदेशी पर्यटकले इन्टरनेट खोजेर गन्तव्य पहिल्याउने भइसके, जिल्ला सदरमुकामस्थित एक दर्जन होटल मात्रै विदेशी पर्यटक राख्न सक्ने अवस्थाका छन’, राजभण्डारीले भने, ‘होटल स्तरोन्नति हुन आवश्यक छ, बागलुङ प्रवेशद्वारमा पर्यटकीय सूचना केन्द्र राख्न बागलुङ नगरपालिकालाई सुझाव दिएका छौँ ।’

अब होटलहरु अनलाइनबाटै बुकिङ गर्न सकिने र प्रविधि मैत्री हुनसकेमा मात्रै विदेशी पर्यटकको रोजाइमा पर्नसक्ने बताउँदै राजभण्डारीले विदेशी पर्यटकहरु जिल्लामा ल्याउन भौतिक पूर्वाधार, आतिथ्यतामा लगानी र प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । जिल्ला सदरमुकाम बागलुङ बजारमा चार सय विदेशी पर्यटक एक रातमा बस्न सक्ने क्षमता रहेको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ । बागलुङ जिल्लामा दुई हजार पाहुना राख्ने क्षमता भएपनि पर्यटकका लागि चार सय मात्रै क्षमता रहेको हो ।

मुस्ताङ जाने विदेशी पर्यटकको छायाँमा बागलुङ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाख २९ गते मुस्ताङको मुक्तिनाथ मन्दिर दर्शनपश्चात् अहिले मुक्तिनाथमा भारतीय पर्यटकको लर्को छ तर मुक्तिनाथ पुगेका भारतीय पर्यटकको १५ प्रतिशत पर्यटक मात्रै बागलुङ कालिका मन्दिरलगायत अन्य धार्मिक क्षेत्रको भ्रमणमा आउने गरेको पाइएको छ ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार पछिल्लो समय मुस्ताङ पुग्ने भारातीय पर्यटक बागलुङ आउन थालेपनि तेस्रो मुलुकका पर्यटकहरु मुस्ताङबाट सोझै फर्कने गरेकोे बताए ।

भारतीय पर्यटक मुक्तिनाथ भ्रमणपश्चात् बागलुङ नगरपालिका-४ कुडुँलेस्थित शालग्राम सङ्ग्रहालय दर्शनका लागि समेत पुग्ने गरेको पाइएको छ तर मुस्ताङ पुगेर बागलुङ आएका पर्यटक एक रातसमेत बागलुङमा नबसी सिधै पोखरा पुग्ने गरेको बागलुङका होटल व्यवसायीहरु भनाई छ ।

उता भारातीय पर्यटक अधिकांशले शाकाहारी खाना मन पराउने भएकाले बागलुङमा शाकाहारी खानाका होटल नहुँदा पनि समस्या उत्पन्न भएको हुनसक्छ । मुस्ताङ पुग्ने विदेशी पर्यटकलाई बागलुङमा ल्याउनका लागि प्रवद्र्धनात्मक काम थाल्नुपर्ने पर्यटन व्यवसायी महादेव शर्माको भनाइ छ । जस्तो कि मुस्ताङ पुग्ने भारतीय पर्यटकले आफ्नो खानपिन र धार्मिक पर्यटनका रुपमा बागलुङलाई छान्नका लागि उनीहरु बस्ने र घुम्ने स्थान तथा होटलको प्रचार गुगलमै उपलब्ध भए सजिलो हुन्छ । तर त्यस्तो अवस्था यहाँ देखिँदैन । त्यसैले पोखराबाट सडकमार्ग भएर मुस्ताङ पुगेका पर्यटक यता नछिरी उतैबाट पोखरा फर्किने गरेका हुनसक्छन् ।

आन्तरिक पर्यटकको भरमा बागलुङ

बागलुङमा विदेशी पर्यटकहरु नगन्य मात्रमा आएपनि आन्तरिक पर्यटकको भने जिल्लाका अधिकांश पर्यटकीयस्थलमा चहल-पहल देखिन्छ । जिल्लाका सुविधा सम्पन्न होटलहरु प्रायजसो आन्तरिक पर्यटकहरुले भरिने गरेको होटल व्यवसायी संघ बागलुङको तथ्याङ्कमा छ ।

जिल्लाको पिस प्यालेस, होटल समिट धौलागिरि, रेड एप्पल, दिराजन, होटल सुगन, आरती, होटल हिलभ्यू लगायतका होटलहरु प्रायः आन्तरिक पर्यटकले नै भरिने गरेको होटल व्यवसायीको भनाइ छ ।

होटलसँगै जिल्लाको पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, हाँडीकोट, बेलढुङ्गा, सोलेडाँडा, भैरवस्थान, घकुण्डेमा आन्तरिक पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ । कोरोनापछि जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वातै बढेको होटल व्यवसायी ललिता थापाले बताए । अहिले जिल्लाका पर्यटकीयस्थलको अवलोकन भ्रमणका लागि पोखरा, चितवन, गोरखा, काठमाडाँैंलगायतका जिल्लाबाट बागलुङ आउने क्रम क्रमश बढ्दै आएको थापाको अनुभव छ ।

अहिले कालिका मन्दिर, पञ्चकोट र शालग्राम सङ्ग्रहालय परिसरमा अवलोकन भ्रमणमा व्यानरसहितका थुप्रै सवारीसाधन देख्न पाइन्छ । कालिका मन्दिर, पञ्चकोट, लामो झोलुङ्गे पुल, शालग्राम सङ्ग्रहालयमा आन्तरिक पर्यटकहरु बढेका छन् । पछिल्लो समय आन्तरिक पर्यटक घरबासमा पुग्ने, हाइकिङ गर्ने तथा वनभोज जानेलगायतका कारण आन्तरिक पर्यटकीयस्थल चलयमान भएका हुन् । आन्तरिक पर्यटक थपिदै गएपनि बागलुङ नगरपालिकाले विदेशी पर्यटकहरु ल्याउन संस्थागत रुपमा पहल गर्ने बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए । रासस


Read Previous

१५ अर्ब रुपैयाँ जुटाउने लक्ष्यसहित लगानी सम्मेलन गर्दै पाँचखाल

Read Next

वन मन्त्रीले इप्पानसँग भने–‘वनले विकासलाई रोक्यो भनेर गुनासो सुनिरहँदा दुःख लाग्छ’

Leave a Reply

Your email address will not be published.