Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

जगदुल्ला अर्धजलाशय आयोजनाको पिपिएमा हस्ताक्षर, २०८६ मा विद्युत उत्पादनकाे लक्ष्य


काठमाडौं । कर्णाली प्रदेशको डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । विद्युत नियमन आयोगले गत चैत १९ मा स्वीकृति दिएपछि नेपाल विद्युत प्राधिकरणले आयोजनाको प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनीसँग बुधबार पिपिए सम्झौता गरेको हो ।

पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवर्द्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट हिउँदमा सामान्य समयमा उत्पादन हुने प्रतियुनिट विद्युत ८.४० रुपैयाँमा खरिद गर्नेछ ।

यस्तै, कम्पनीले आयोजनाबाट हिउँदमा ‘पिक आवर’ (बढी विद्युत खपत हुने बिहान र साँझको समय) मा उत्पादन गर्ने विद्युत प्रतियुनिट १०.५५ रुपैयाँमा प्राधिकरणलाई बिक्री गर्नेछ । बर्खायामको विद्युतका लागि भने प्रतियुनिट ४.८० रुपैयाँ दरमा प्राधिकरणले खरिद गर्ने गरी सम्झौता भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सापकोटाले बताए ।

आयोजनाको प्रवर्द्धक कम्पनीले विद्युतको यो दरमा ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ । डोल्पाको मुड्केखोला गाउँपालिकामा अवस्थित यो आयोजनाले सुख्खा याममा ४ देखि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्ने अध्ययनले देखाएको छ ।

पिपिएमा तोकिएको तालिका अनुसार २०८६ साल असारभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने सुरु गरिनेछ । आयोजनाको पिपिए सम्पन्न भइसकेकाले अबको एक महिनाभित्रमा बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय स्रोत व्यवस्थापन सम्बन्धि सम्झौता गर्ने तयारी गरिरहेको सापकोटाले जानकारी दिए ।

उनका अनुसार आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनी (एचआइडिसिएल), कर्मचारी सञ्चय कोष र नबिल बैंकबाट लगानी गर्ने प्रतिबद्धता आएको छ । आयोजना सम्पन्न गर्न कूल लागतको ७० प्रतिशत हुन आउने १६ अर्ब ९२ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाइने छ । ऋण बाहेकको ३० प्रतिशत अर्थात ७ अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी जुटाइनेछ ।

‘अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवासगृह बनाउने काम धमाधम भइरहेको छ,’ उनले भने, ‘पहुँच सडक र क्याम्प बनाउने कार्य सकिन लागनेकाले अबको १ वर्षभित्रमा आयोजना निर्माणका लागि ठेकेदार छनोटको सम्पूर्ण प्रक्रिया पूरा गरी आगामी वर्षदेखि सिभिल संरचनाकाे निर्माण सुरु गर्ने तयारीमा छौं ।’

आयोजनाको विद्युतगृहमा थप भौगर्भिक अध्ययन गर्न ४०० मिटर लामो परीक्षण अडिट सुरुङ खन्ने कार्य यसअघि नै सम्पन्न भइसकेको छ । आयोजनाको सिभिल संरचना निर्माण गर्ने ठेकेदार छनोटका लागि बोलपत्र आह्वान गर्न काजजात तयार गरी इपिसी मोडलमा आयोजना निर्माण गर्ने तयारी छ ।

यो आयोजना २०७५ फागुन २७ गते सरकारद्वारा घोषित जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुँदैछ । आयोजनामा स्वपुँजी लगानी गर्नेलाई समूह क र ख गरी २ श्रेणीमा विभाजन गरिएको छ । जसमध्ये समूह (क) मा विद्युत उत्पादन कम्पनी लिमिटेडको २६ प्रतिशत सेयर स्वामित्व रहनेछ । एचआइडिसिएलले पनि १० प्रतिशत लगानी गर्ने तय भएको छ । विद्युत प्राधिकरणले ९ प्रतिशत तथा कर्णाली प्रदेश सरकारले पनि ५ प्रतिशत लगानी गर्नेछ । स्थानीय तह (प्रभावित क्षेत्रका जगदुल्ला र मडुकेखोला गाउँपालिका) ले १ प्रतिशत लगानी गर्नेछ ।

यस्तै, समूह (ख) अन्तर्गत देशभरका सर्वसाधारण नागरिकका लागि ३३ प्रतिशत र आयोजना प्रभावित क्षेत्र तथा जिल्लाबासीका लागि १० प्रतिशत सेयर छुट्याइएको छ । आयोजनाको विद्युत प्रवाह हुने ४५ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनको रुट प्रभावित क्षेत्रका स्थानीयका लागि पनि ३ प्रतिशत सेयर छुट्याइएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत ४५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी बाफिकोट सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रणालीमा जोड्ने गरी विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ । बाफीकोटमा जोडिएको विद्युत प्राधिकरणको १११ किलोमिटर लामो प्रसारण लाइनमा प्रवाह गरी दाङस्थित घोराई सबस्टेसनमा ल्याइनेछ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ । यो आयोजना अहिले अध्ययनको चरणमा छ ।


Read Previous

गल्छी–रसुवागढी राजमार्गकाे तिरतिरेमा हुनसक्ने अवरोध खुलाउन उपकरण र जनशक्ति तयार

Read Next

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

Leave a Reply

Your email address will not be published.