Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

३ पटक म्याद थप्दा पनि पूरा भएन १.८ किलाेमिटर सडक   


बाँके । बाँकेको खजुरामा निर्माणाधीन चार लेन सडक ३ पटक म्याद थप्दा पनि सम्पन्न हुन सकेको छैन । बाँकेको खजुरा बजारमा १  हजार ८ सय मिटर लम्बाइको चार लेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेकाेमा अहिलेसम्म पूरा हुन नसकेकाे हाे ।

तालिकाअनुसार याे सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर, हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर नीरज शाक्यले जानकारी दिए ।

“सम्झौताअनुसार प्रतिदिन ०.०५ प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि बढेको छैन”, उनले भने । सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको शाक्यले बताए । काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उनकाे भनाइ छ ।

बाँकेको खजुरा बजारमा १ हजार ८ सय मिटर र बर्दियाको गुलरियामा २ हजार २ सय मिटर लामाे सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपैयाँमा ठेकका सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताए ।

सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए । सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष विकले बताए ।


Read Previous

ढुंगाले लागेर अरुण तेस्रोकाे सुरुङमा काम गर्ने कामदारकाे मृत्यु

Read Next

नर्जाखानी गाउँका बासिन्दालाई पुलकै चिन्ता   

Leave a Reply

Your email address will not be published. Required fields are marked *