Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बहुतले भवन बनाउन घरटहरा हटाइने


झापा ।  विर्तामोड नगरपालिकाले वडा नं ५ स्थित बुधबारे हटियामा बहुतले आधुनिक व्यापारिक भवन बनाउन त्यहाँ रहेका सबै घर टहरा हटाउने भएको छ । देवीहाटका नामले परिचित २१ कट्ठा क्षेत्रफलको सो स्थानमा विसं २०७२ यता निर्मित ७२ अस्थायी संरचनामा साना व्यवसाय सञ्चालन भइरहेको छ भने जग्गा अतिक्रमण गरेर थप एक सय टहरा बनेको पाइएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेका अनुसार नगरपालिकाले अस्थायी संरचना हटाएर सो स्थानमा आधुनिक बहुतले व्यापारिक भवन बनाउने महत्वाकाङ्क्षी विकास योजना अघि बढाएको छ । पूर्वी नेपालकै प्रमुख व्यापारिक केन्द्रका रुपमा उदीयमान विर्तामोडको केन्द्रभागमा रहेको सो स्थानमा सुविधासम्पन्न व्यापारिक भवनको खाँचो रहेको उनने बताए ।

नगरपालिकाले यही वैशाख ४ गते तेस्रोपटक सार्वजनिक सूचना प्रकाशित गरेर १० दिनभित्र त्यहाँका सम्पूर्ण घरटहरा खाली गर्न सम्बन्धित व्यवसायीलाई अनुरोध गरेको छ । दिइएको म्यादभित्र नहटाइएमा नगरपालिका आफैँले बल प्रयोग गरेर कानुनबमोजिम बुधबारे हटिया खाली गराउने नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

‘घरटहरा हटाएर बुधबारे हटिया खाली गरिदिन पटकपटक सूचना जारी गरिसकेका छौँ’, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने, ‘अन्यथा कानुनबमोजिम सम्पूर्ण घरटहरा हटाउनेछौँ र त्यसमा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाटै असुल्नेछौँ’, उनले कानुनबमोजिम हटाउँदा सम्बन्धित व्यक्तिको कुनै धनमालमा क्षति हुन गएमा मालधनी आफैँ जवाफदेही हुनुपर्ने बताए ।

दानवीर देवीप्रसाद प्रसाइका नाममा रहेको सो जग्गा नगरपालिकालाई दानमा प्राप्त भएको अचल सम्पत्ति हो । हाल सो बजारलाई ‘देवीहाट’ भन्ने गरिन्छ । नगरपालिकाले बनाउन लागेको बहुतले व्यापारिक भवनको नाम पनि ‘देवी भवन’ नै राखिएको छ ।

नगरपालिकाले आगामी ५० वर्षसम्मको आवश्यकतालाई दृष्टिगत गरेर आधुनिक व्यापारिक भवन बनाउने योजना अघि सारेको हो । डिपिआरको प्रक्रियामा रहेको सो आधुनिक भवन चार तलाभन्दा अग्लो हुने र भूमिगत दुईतलालाई सुविधायुक्त गाडी पार्किङस्थल बनाइने भनिएको छ ।

नेपाल सरकारको नगर विकास कोषबाट रु एक अर्ब सहुलियत कर्जा तथा अनुदान लिएर विर्तामोड नगरपालिकाले बहुतले व्यापारिक भवनको योजना अघि बढाएको हो ।नगरको कार्यपालिकाबाट नयाँ भवन बनाउने र नगर विकास कोषबाट कर्जा लिनेसम्बन्धी निर्णय भइसकेको छ । तर अस्थायी घरटहरा बनाएर गुजारा चलाइरहेका स्थानीयवासीले भने नगरपालिकाले जबर्जस्ती हटाउन खोजेको भन्दै असहमति जनाएका छन् ।

उनीहरु बहुतले भवनमा ठूला व्यापारी आउने र आफूहरुले व्यवसायबाट हात धुनुपर्ने अवस्था आउने भन्दै नगरको योजनाप्रति असन्तुष्टि प्रकट गरिरहेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी विर्तामोड नगर समितिकी अध्यक्ष रञ्जु प्याकुरेलले हाल व्यवसाय गरिरहेकासँग सहमति नगरी सो स्थान खाली गराउने नहुने बताइन । सर्वदलीय बैठकमार्फत नगरपालिका नेतृत्वलाई व्यवसायीलाई अन्यत्र उचित व्यवस्थापन नगरी नहटाउन र कर्जाको साटो अनुदानमा व्यापारिक भवन बनाउन सुझाव दिइएको राप्रपा नगर अध्यक्ष प्याकुरेलले जानकारी दिए ।

विर्तामोड उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले डोजर लगाएर व्यवसायीलाई उठिबास नलगाउन आग्रह गरे । नगरपालिका अभिभावक संस्था भएकाले वर्षौंदेखि त्यस ठाउँमा राज्यलाई कर तिरेर जीविका चलाइरहेका साना व्यवसायीलाई हटाउनुभन्दा पहिले उनीहरुका लागि व्यवसाय गर्ने वैकल्पिक स्थान उपलब्ध गराइनुपर्ने उनको सुझाव छ । रासस


Read Previous

वायुसेवा निगमबाट करिब ३ अर्ब साँवा र ब्याज भुक्तानी

Read Next

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.