
काठमाडौं। वैकल्पिक बसोबासको व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन लागिएको भन्दै सुकुम्बासीहरूले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। विभिन्न कम्युनिस्ट घटकहरूको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले जबरजस्ती विस्थापन गर्न खोजेको आरोप लगाउँदै निष्कासन प्रक्रिया तत्काल रोक्न माग गरेका हुन्।
प्रदर्शनकारीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन भइरहेको आरोप लगाउँदै सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले आवासको अधिकार सुनिश्चित गर्न, वैकल्पिक बसोबासको व्यवस्था नगरी कुनै पनि बस्ती नहटाउन तथा भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने बताएका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै वैकल्पिक व्यवस्था नगरी हटाउने निर्णय कार्यान्वयन गरिए आफूहरू पुनः पुरानै स्थानमा फर्किने चेतावनी दिएका छन्।
यसअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न असार १९ गतेसम्मको समयसीमा दिएको थियो। गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो।
सरकारले तोकेको समयसीमापछि होल्डिङ सेन्टर खाली गराउने तयारी भइरहेका बेला प्रभावित परिवारहरूले वैकल्पिक पुनर्स्थापनाको सुनिश्चितता नभएसम्म आफूहरूलाई नहटाउन आग्रह गरेका छन्।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
