Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पर्यटकको रोजाइ बन्दै पटिहानी, फागुनसम्म १ लाख ९१ हजारले गरे अवलाेकन


भरतपुर । वन्यजन्तु अवलोकनका लागि आउने पर्यटकका लागि चितवन उत्कृष्ट गन्तव्य हो । चितवन राष्ट्रिय निकुन्जमा दुर्लभ एकसिङ्गे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन । निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो । सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएका छन् ।

सौराहाजस्तै पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्ने गरेको छ । भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी अहिले स्वदेशीसँगै विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यहाँ विदेशी पर्यटकको आगमन बढ्न थालेको वडाध्यक्ष विष्णुराज महतोले बताए ।

‘पर्यटकको पटिहानीमा बसाई लम्ब्याउनका लागि स्थानीय तहले विभिन्न पूर्वाधार निर्माणका साथै समन्वय गर्दै आएको छ’, उनले भने, ‘निकुञ्जका जङ्गली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जङ्गल सफारीका लागि आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको छ ।’ यहाँको शान्त वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ ।

भरतपुरको मुख्य बजार क्षेत्रबाट करिब १४ किलोमिटरको यात्रापछि पटिहानी पुग्न सकिन्छ । कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि पुनः जुर्मुराएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटक पटिहानीको वातावरणमा खुसी देखिन्छन् । जर्मनीबाट आउनुभएका उलफले राप्तीमा हात्तीमा चढेर नुहाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए । उनले नेपाल प्राकृतिक रुपमा सुन्दर रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न पाउनु आफूहरुको सौभाग्य भएको बताए ।

पटिहानी आइपुग्ने पर्यटकले चितवन राष्ट्रिक निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिङ्गे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन् । महँगा पर्यटकलाई तान्नका लागि यहाँ ठूला–ठूला सुविधा सम्पन्न होटल निर्माण गरिएको वडाध्यक्ष महतोले बताए । पटिहानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी पर्यटकीय संरचना निर्माण गरिएका छन् ।

स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ । भरतपुर महानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा पर्यटकीय केन्द्र पटिहानी पुग्न सहज छ । महानगरपालिकाभित्र निर्माण गर्न लागिएकोे चक्रपथ पनि यही क्षेत्र भएर जान्छ ।

यहाँ खुलेका होटल र पर्यटकको आवागमनले पटिहानीमा पर्यटकीय गतिविधि बढ्दै गएको भरतपुर–२२ का दीपक पौडेल बताउछन् । चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्म १ लाख ९१ हजार ८८३ जना निकुञ्ज घुमेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।  गत आवमा १ लाख ९० हजार ४५८ जनाले निकुञ्जको भ्रमण गरेका थिए । आर्थिक वर्ष सकिन चार महिना बाँकी रहँदा नै पर्यटकको सङ्ख्या अघिल्लो वर्षको भन्दा बढी छ । निकुञ्जमा एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीजस्ता जनावरसँगै चराचुरुङ्गी देख्न पाइन्छ । रासस


Read Previous

 ‘युनिभर्सल एसप्टेन्स डे’ मा स्थानीय भाषामा डोमेन प्रणालीको व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाको जोड

Read Next

पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *