Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

महाकाली सिँचाइ : गोदावरीसम्म मूल नहर निर्माणको कामले गति लियो


महेन्द्रनगर । कैलाली–कञ्चनपुरको ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अघि बढेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामले गति लिएको छ ।

महाकाली नदीको पानी कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित सरकारले राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरेयता आयोजनाको कामले गति पाएको हो । एक सय ५१ किलोमिटर मूल नहर निर्माण गरी कैलालीको मालाखेती र कञ्चनपुरको दक्षिणी क्षेत्र पुर्नर्वास नगरपालिकासम्म सिँचाइ पुग्ने गरी आयोजना अघि बढेको छ ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनीयर शम्भू पण्डितले मूल नहर निर्माणको नयाँ ठेक्का आह्वान प्रक्रियामा रहेको बताए । ‘भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म साढे २८ किलोमिटर मूल नहर करिब करिब निर्माण भइसक्यो,’ इञ्जिनीयर पण्डितले भने, ‘अबको नयाँ ठेक्कामा २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव दुई किलोमिटर मूल नहर (गोदावरी खोलासम्म) लागत अनुमान स्वीकृत भएर बोलपत्र आह्वानको प्रक्रियामा छ ।’

उनले अब निर्माण हुने २० किलोमिटर मूल नहर निर्माण तीनदेखि पाँच प्याकेजमा टेन्डर आह्वान हुनसक्ने बताए । उक्त मूल नहर निर्माणका लागि साढे तीन अर्ब रकम खर्च हुनेछ । ‘मूल नहर निर्माणका क्रममा जग्गा अधिग्रहण गर्न नपर्ने भएकाले गुलरिया र मालाखेती सहरमाथि नै तेस्रो चरणको मूल नहर बनाउने गरी लागत अनुमान बनेको छ,’ उनले भने ।

उनले २८ किलोमिटर मूल नहर निर्माणको काम आगामी असारमा सम्पन्न भइसक्ने जानकारी दिए । ‘कोरोना कहर, मुआब्जा र वनका रुख कटानलगायतका विविध कारणले बीचको केही समय काम प्रभावित भयो,’ उनले भने । अहिले दुई प्याकेजमा करिब ४८ किलोमिटर शाखा नहरको कामसमेत सुरु भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले दिएको जानकारीअनुसार यहाँ सिँचाइ मूल नहरको एक किलोमिटरदेखि १४ किलोमिटरसम्म एउटा र १४ देखि २२ किलोमिटर मूल नहरको शाखा नहर निर्माणका लागि ठेक्का भएर काम सुरु हुँदैछ ।

‘शाखा नहरको पहिलो प्याकेज ५४ करोड रुपैयाँ र दोस्रो प्याकेज ५३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम अघि बढिसकेको अवस्था छ,’ इञ्जिनीयर पण्डितले भने, ‘४८ किलोमिटर शाखा नहर निर्माण दुई वर्षभित्र पूरा गर्ने समयसीमा दिइएको छ ।’

गत असारको दोस्रो साता महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत बनेको मूल नहरमा पानी परीक्षण गरिए पनि नहरमा नियमित पाउने विषय टुङ्गोमा अझै अन्योल छ । गत असार १५ गतेको दिन धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छाडे पनि लगत्तै नहर उद्घाटनपछि मात्रै नियमित पानी दिने बताए पनि दुई देशबीचको विषय भएकाले टुङ्गोमा पुग्न नसकेको आयोजना कार्यालयको भनाइ छ।

‘विभिन्न भ्रमणका क्रममा र सिँचाइ विभागमा पानी नियमित पाउनुपर्ने विषय सम्झाइरहेका हुन्छौँ,’ पण्डितले भने, ‘यो माथिल्लो तहबाटै समाधान खोजिनुपर्ने विषय पनि हो ।’ विसं २०६४ देखि सुरु भएको आयोजना २०७५ सालमा आइपुग्दा १२ किमी मात्र मूल नहर बनाउन सकिएको थियो । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेत स्तरोन्नति भएपछि आयोजनाको कामले गति लिएको इञ्जिनीयर पण्डितको भनाइ छ ।


Read Previous

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

Read Next

पर्यटकको आकर्षक गन्तव्य बन्दै पाँचपोखरी थाङपाल

Leave a Reply

Your email address will not be published.