Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

त्रिशूली जलविद्युत केन्द्रको स्तराेन्नति गरिँदै, सुख्खा याममा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चल्ने बनाइने


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ स्थित  २४ मेगावाटको त्रिशूली जलविद्युत केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरु गरेको छ । बि.सं.२०२३ सालबाट सञ्चालनमा रहेको जलविद्युत केन्द्रका उपकरणहरू पुरानो तथा जीर्ण बन्रुका साथै माटो, बालुवा भरिएर जलाशय चउरमा परिणत भएपछि  स्तराेन्नति गरेर आधुनिकीकरण गर्न सुरु गरिएको हाे ।

करिब ७५ करोड रुपैयाँ अनुमानित लागतमा जीर्णोद्धार तथा आधुनिकीकरण परियोजनामार्फत, विद्युतगृहमा जडित इलेक्ट्रोमेकानिकल उपकरणहरूलाई आधुनिक तथा स्वचालित बनाउन लागेकाे प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार करिब ४ सय रोपनी जग्गामा फैलिएको जलाशयमा थुप्रिएको माटो, बालुवालाई हटाएर त्यसको पुनर्स्थापनाकाे काम सुरु गरिएको छ ।

जलाशयको दायाँ किनारतर्फबाट ५० क्युमेक पानी बहाव क्षमताको १ हजार २ सय मिटर लम्बाइ भएको नयाँ बाइपास नहर निर्माण गरिएको पनि उनले बताए । अहिले यही बाइपास नहरमार्फत विद्युत उत्पादन भइरहेको छ । नहर सञ्चालनमा रहेकोले विद्युत उत्पादन बन्द नगरी जलाशयमा भरिहेको माटो, बालुवा निकाल्ने काम भइरहेकाे छ ।

गत बैशाखबाट सुरु भएको जलाशयको पुनर्स्थापना यही फागुनभित्रमा सक्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएकाे छ । विद्युतगृह स्वचालित बनाउने काम सम्पन्न हुन भने अझै १ वर्ष लाग्ने घिसिङले जानकारी दिए ।

विद्युतगृह स्वचालित बनाउनका लागि ठेक्का सम्झौता भई केही उपकरणहरू उत्पादनको क्रममा रहेका छन् । पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू केन्द्रस्थलमा आपूर्ति भइसकेको छ ।

कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले जलविद्युत केन्द्र स्तराेन्नतिका लागि भइरहेकाे कामकाे स्थलगत निरीक्षण गरेका छन् । उनीहरूले तोकिएको समयमा सम्पूर्ण काम सक्न निर्देशन समेत दिएका छन् ।

जलाशयको पुनर्स्थापना भएपछि विद्युत केन्द्रकाे विद्युतगृहलाई  माग बढी हुने समय (पिक) मा दैनिक ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिने घिसिङले बताए ।  हिउँदमा पिकिङको लागि पाइपास नहरबाट र जलाशयमा सञ्चित गरिएको पानी प्रयोग गरी विद्युत् उत्पादन गर्न सकिने छ ।

वर्षायाममा जलाशय प्रयोगमा नल्याइने, खहरे खोलाहरूबाट आउने लेदोलगायतलाई रोक्न संरचना निर्माण गरिएको हुँदा विगतमा जस्तो बालुवा,माटो भरिन नपाउने केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए । उनले यसाे गरिँदा जलाशयको सञ्चित क्षमता गुम्न नपाउने बताए ।

बिदुर नगरपालिकाले जलाशय वरिपरि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना तयार गरेको छ । जलाशयमा डुङ्गा चलाउने, खाली जग्गामा पैदलमार्ग तथा बँगैचा निर्माण गर्नेलगायतका नगरपालिकाको याेजना छ ।

भारतीय अनुदान सहयाेगमा याे जलविद्युत केन्द्र निर्माण गरिएको थियाे हो । अर्धजलाशय  जलविद्युत केन्द्रबाट वार्षिक १६ करोड ३० लाख युनिट विद्युत उत्पादन हुने गरी डिजाइन गरिएको छ ।

गत आर्थिक वर्ष (आव) २०७८/७९मा विद्युतगृहबाट १३ करोड ७१ लाख युनिट विद्युत् उत्पादन भएको थियो । गत आवसम्ममा जलविद्युत केन्द्रबाट ५ अर्ब ६९ करोड ३९ लाख युनिट विद्युत् उत्पादन भएको प्राधिकरणले जनाएकाे छ ।

१४ करोड भारतीय रुपैयाँ सहयोगमा निर्माण भएको जलविद्युत केन्द्रकाे सुरुको जडित क्षमता २१ मेगावाट थियो । पछि यसको पुनर्स्थापना मार्फत क्षमता विस्तार गरी २४ मेगावाट पुर्याइएको हो । जलविद्युत केन्द्रको क्यास्केडको रूपमा १४ मेगावाटको देवीघाट जलविद्युत केन्द्र पनि सञ्चालित छ ।


Read Previous

माया खोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

Read Next

अमेरिकी नेपालमा विकास प्रजातन्त्रको पक्षमाः प्रमुख समान्था पावर

Leave a Reply

Your email address will not be published.