Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

६ वर्षमा पनि सम्पन्न भएन गोदावरी सडक


काठमाडौं । निर्माण सुरु भएको झण्डै छ वर्ष बित्दा गोदावरी सडक अझै सम्पन्न भइसकेको छैन।

उपत्यकामा विस्तारको क्रममा रहेका सडकमध्ये सबैभन्दा कम चौडाइमा कालोपत्र भएको सो सडकको एक खण्डमा काम बाँकी रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ।

हात्तीवन कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको सडक निर्माण सम्पन्न गर्न सम्बन्धित वडा कार्यालयसँग समन्वय भइरहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। उनका अनुसार त्यहाँको वडाध्यक्षले काम गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएकाले त्यसलाई सम्पन्न गर्न सकिने देखिएको छ। झण्डै दुई सय मिटर सडकमा समस्या रहेकामा त्यसलाई टुङ्ग्याउन लागिएको हो। उनले भने, ‘त्यहाँ सम्पन्न गर्न सकियो भन्ने अरुतिरको सडक क्लियर छ।’

साँघुरो सडक फराकिलो बनाएर कालोपत्र गर्ने गरी ठेक्का गरिएको भए पनि चौडाइ बढाउन नसकिएपछि कम चौडाइमा नै कालोपत्र गर्न लागिएको सूचना अधिकारी जोशीले बताए। बीस मिटर चौडा गर्ने गरी ठेक्का सम्झौता भएकामा अहिले कतै पाँच त कतै त्योभन्दा कम चौडाइमा कालोपत्र भइरहेको छ। कतैकतै एउटा गाडी मात्रै सजिलै हिँड्न सक्ने रहेको छ।

हरिसिद्धिको घुम्ती नजिकैको सडक सबैभन्दा साँघुरो रहेको सूचना अधिकारी जोशीले बताए। चारैतिर घर र मन्दिर भएको सो ठाउँमा चौडाइ पाँच मिटरभन्दा कम छ। ठेक्का भएको लामो समय भएकाले र सरकारको निर्णयअनुसार नै जति उपलब्ध छ त्यतिमै कालोपत्र गरेर पनि ठेक्का टुङ्गाउन लागिएको उनले बताए।

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक लामो समयसम्म सम्पन्न नहुँदा स्थानीयवासीले दुःख पाएका थिए। छ वर्ष पहिले विस्तार सुरु गरिएको सो सडकमा सुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन। तीन वर्ष पहिले सरकारले उपलब्ध चौडाइमा नै निर्माण गर्ने निर्णय भएपछि भने निर्माण अघि बढाइएको हो।

सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो। त्यसपछि आआफ्नो जग्गा पर्ने स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि लामो समय सडक निर्माण अवरुद्ध रहेको थियो। सो सडकमा गोदावरीको नजिकै झण्डै साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम भएको छ।

वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ। सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या रहेको थियो।

विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठंंव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ। सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो। सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ।


Read Previous

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

Read Next

सडकको पहुँचसँगै फेरियो जीवनशैली

Leave a Reply

Your email address will not be published.