Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृति चाडै


काठमाडाैं । सिद्धबाबा सुरुङमार्गको डिजाइन सकाएर स्वीकृतिको चरणमा प्रवेश गरेकाे छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले जानकारी दिए ।

उनले गत साता डिजाइन बुझाइएको र अहिले समीक्षा (रिभ्यू)को काम भइरहेको जानकारी दिए । ‘हामीसँग रिभ्यूका लागि ४५ दिनको समय छ, सो अवधिभित्र स्वीकृति दिनुपर्छ’ उनले भने ।

निर्माण कम्पनीले तयार गरेको डिजाइन ताेकिएअनुसार नभए हेरफेर हुने सूचना अधिकारी बज्राचार्यले बताए । केन्द्रले आवश्यक भनेका कुरा समेटिएको भएमा भने स्वीकृत हुनेछ । सडक विभागले स्वीकृत गरेपछि फिल्डमा काम शुरू हुनेछ ।

केन्द्रका अनुसार निर्माण व्यवसायी र विदेशी इन्डिपेन्डेन्ट चेकर (स्वतन्त्र जाँच गर्ने व्यक्ति)सँग यसबारे छलफल हुनेछ । आगामी साता कम्पनीसँग परामर्श बैठक हुने र केही परिवर्तन गर्नु नपरे डिजाइनअनुसार निर्माण अघि बढ्नेछ ।

योजना निर्माणको जिम्मेवारी चाइना स्टेट इञ्जिनियरिङ कन्स्ट्रक्सन कपार्नेरेसनले पाएको छ । सोही कम्पनीले अहिले नारायणगढ–बुटवल सडकखण्डमा काम गरिरहेको छ । गतवर्ष भएको ठेक्काको निर्माण अवधि ४ वर्षको हुनेछ । जसमा पहिलो वर्ष डिजाइनमा र बाँकी ३ वर्ष निर्माणमा खर्च हुनेछ ।

निर्धारित समयभन्दा अघि नै डिजाइन सकाइएको छ । ‘अब डिजाइन स्वीकृत भएपछि एकदुई महिना सामान जुटाउन लाग्छ र त्यसपछि निर्माणमा जानेछ’  उनले भने । दुई दिन पहिलेबाट निर्माणस्थलमा तयारीका लागि पर्खाल लगाउने, फाउण्डेसन मिलाउनेलगायतका काम सुरु भएको केन्द्रको भनाइ छ ।

निर्माणअघि सिद्धबाबाको मन्दिर चढ्ने पहिलो भ¥याङ र मन्दिर पछाडिको भवन केही भाग भत्काउनुपर्ने सूचना अधिकारी बज्राचार्यले बताए । स्थानीयले नभत्काए हुन्थ्यो भन्ने सुझाव आए पनि त्यो नभत्काई काम गर्न नसकिने अवस्था छ । ‘सकेसम्म बचाउन प्रयास भएको हो तर भत्काउनै पर्ने भएको छ’ उनले भने ।

सुरुङ निर्माणका लागि वन क्षेत्रको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रक्रियामा छ । पहिलेको सडक क्षेत्रमा नै योजना बन्ने हुँदा वन क्षेत्र धेरै नपर्ने उनकाे भनाइ छ । सडक सीमाभित्रै काम गरिने र धेरै रुख काट्नुपर्ने नभएकाले निर्माणको क्रममा धेरै समस्या नआउने अनुमान गरिएको छ ।

निर्माण कम्पनीले सुरुमा सुरुङको मुखबाट काम सुरु गर्ने गरी कार्ययोजना बनाइनेछ । सुरुङ र रकसेड सँगसँगै निर्माण गर्दा सडकमा व्यवस्थापनमा समस्या पर्ने हुँदा एउटा सकाएर अर्काे काम गरिनेछ । सुरुङ सकिएर त्यहाँबाट गाडी गुड्न थालेपछि रकसेड निर्माण अघि बढाइनेछ ।

सुरुङ धेरै लामो छैन भने सुरुङ निर्माण एकैपटक दुबैतिरबाट हुँदा सवारी व्यवस्था गर्न गाह्रो हुने भएकाले एकातर्फबाट गर्दा ठीक हुन्छ । अहिलेसम्म निर्माणको अवधिमा कसरी सवारी व्यवस्थापन गर्ने भनी कार्ययोजना व्यवसायीले केन्द्रलाई दिइसकेको भने छैन । पहिले डिजाइन स्वीकृत भएपछि कार्ययोजना आउनेछ ।

सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।

सुरुङको लम्बाइ एक हजार दुई सय मिटर मिटरको हुनेछ । सरकारको आफ्नै लगानीमा निर्माण हुन लागेको सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस


Read Previous

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड

Read Next

उपमेयरकै नेतृत्वमा तोडफोड भएको चेपेखोलाको निर्माण २५ दिनदेखि ठप्प, कारबाहीमा प्रहरीको बेवास्ता

Leave a Reply

Your email address will not be published.