Nepal Purbadhar

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

सम्पन्न नगरी बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरणको तयारी


काठमाडौं । भारत सरकारले बथनाह–कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको ८ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

भारतको बथनाहदेखि नेपालको कटहरीसम्म कुल १८ दशमलव ६ किलोमिटर छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किमी लम्बाइ छ । जसमध्येको ८ किलोमिटर खण्डमा निर्माण पूरा भइसकेको छ ।

बाँकी रहेको ५ दशमलव ६ किमी सम्पन्न हुन बाँकी छ । जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन ।

कटहरी क्षेत्रमा जग्गा विवादको समस्या अझै समाधान भएको छैन् । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको चित्रकारले जानकारी दिए ।

सन् २०१० मा राष्ट्रपति रामवरण यादव भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

भारत सरकारको अनुदान सहयोगमा ५ स्थानमा रेल निर्माण गर्ने भनिए पनि बथनाह–कटहरी र जयनगर–कुर्था अन्तर्गत रेलमार्ग निर्माण भएको थियो । जयनगर–कुर्था खण्डमा रेल सञ्चालन भइसकेको छ ।

त्यसबाहेकका न्यु जलपाइगुडी–काँडडभिट्टा, नौतनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज क्षेत्रमा भने निर्माण सुरु हुन सकेको छैन । यी दुई खण्डमा निर्माण सकिएपछि बाँकी ३ ठाउँमा पनि निर्माण अघि बढ्ने प्रवक्ता चित्रकारको भनाइ छ ।

जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले दुई सेट रेल खरिद गरेको थियो । कुर्थाबाट जयनगर खण्डमा रेलमार्ग निर्माण भएको झण्डै तीन वर्षपछि विसं २०७८ चैत २१ देखि सञ्चालनमा आएको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेलको भर्चुअल उद्घाटन गर्नुभएको थियो । हाल उक्त मार्गमा रेल नियमित सञ्चालनमा छ ।

कुर्थादेखि बिजुलपुरासम्मको रेलमार्गको दूरी १७ किलोमिटर छ । जयनगरबाट बिजुलपुरासम्म रेलमार्ग निर्माण हुँदा जम्मा ५२ किमीमा रेल सञ्चालन हुनेछ । बर्दिवाससम्म नै खण्डमा निर्माण सकिँदा रेलमार्गको लम्बाइ झण्डै ७० किमी लम्बाइको हुनेछ ।

भारत सरकारले अहिले निर्माणाधीन दुबै क्षेत्रमा ‘ब्रोड गेज’मा रेलमार्ग निर्माण गरिरहेको छ । यसअघि पनि जनकपुरमा रेल सञ्चालनमा भए पनि विराटनगरमा पहिलो पटक रेलमार्ग निर्माण अघि बढेको हो ।

अहिले सरकारले आफ्नै लगानीमा पूर्व पश्चिम रेलमार्ग अघि बढाइरहेको छ । बजेट अभावका कारण निर्माणले गति लिइरहेको छैन ।

भारत सरकारले काठमाडौ रक्स्यौल र चीन सरकारले काठमाडौँ(केरुङ रेलमार्ग निर्माणमा चासो देखाएका छन् । त्यसमध्ये पनि काठमाडौँ(रक्स्यौल खण्डमा भारतीय पक्षले निर्माण अघि बढाइरहेको छ । रासस


Read Previous

विद्युत प्राधिकरणले आफैँ हटाउन थाल्यो पोलमा झुन्डिएका अव्यवस्थित तार

Read Next

कहिले सकिएला चिलिमे–त्रिशूली प्रसारण लाइन ?

Leave a Reply

Your email address will not be published.