Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मंसिर २९ गतेदेखि निफ्रा बैंकको ‘ऊर्जा ऋणपत्र’ निष्कासन हुँदै


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आगामी मंसिर २९ गतेदेखि ‘ऊर्जा ऋणपत्र’ निष्कासन गर्ने भएको छ । निफ्राले ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले ५ अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरिसकेकाले ऊर्जा ऋणपत्र निष्कासन गर्ने तयारी भइरहेको निफ्राले जनाएको छ । निफ्राका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ दरमा ५० लाख कित्ता ऊर्जा ऋणपत्र जारी गरिनेछ ।

ऋणपत्र खरिद गर्न सर्वसाधारणले आगामी पुस ४ गतेसम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा पनि निष्कासित ऋणपत्र सबै बिक्री नभएमा बढीमा पुस १४ गतेसम्म आवेदन दिने अवधि लम्बिने निफ्राले जनाएको छ । आवेदकले न्युनतम २५ कित्तादेखि बढीमा १ लाख कित्ता ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र जारी गरी संकलन भएको पुँजी ऊर्जा क्षेत्रका पूर्वाधार परियोजनामा लगानी गर्ने योजना छ । यो वर्ष जारी हुने ऋणपत्र ७ वर्षपछि परिपक्क हुनेछ । ‘७ वर्ष, ७ प्रतिशत निफ्रा ऊर्जा ऋणपत्र २०८५/८६’ नाम दिई ऋणपत्र निष्कासन गरिनेछ । ऋणपत्र खरिदकर्ताले ७ वर्षसम्म वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् ।

निफ्राले जारी गर्ने कूल ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ । बाँकी ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निफ्राले व्यक्तिगत तरिकाबाट बिक्री वितरण गरिनेछ । ऋणपत्र निष्कासन गर्न एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
निफ्राले ऋणपत्र जारी गर्न बोर्डमा गत असार १ गते गरे बोर्डमा आवेदन दिएको थियो । आवेदन दिएको करिब ५ महिनामा बोर्डले गत कात्तिक २४ गते निफ्रालाई ऋणपत्र जारी गर्न स्वीकृति प्रदान गरेको थियो ।

निफ्राले जलविद्युत सहित पूर्वाधार क्षेत्रको विकासमा लगानी गर्दै आइरहेको छ । निफ्राले अहिलेसम्म पूर्वाधार क्षेत्रका विभिन्न परियोजनामा ३४ अर्ब १९ करोड रुपैयाँ बढीको ऋण स्वीकृत गरेको छ । कूल लगानी मध्ये १ दर्जन जलविद्युत आयोजनामा १८ अर्ब रुपैयाँ ऋण लगानीको प्रतिबद्धता जनाई ऋण प्रवाह गरिरहेको छ ।


Read Previous

आइडिया स्टुडियो नेपालको सिजन ७ सुरु

Read Next

उपयाेगी मंगलम प्रोड्रेन पाइप

Leave a Reply

Your email address will not be published.