Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

समयमै भेरी करिडोरका पुल नबन्दा ढुवानी महंगाे, आवतजावतमा सास्ती


जाजरकोट । १ वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् ।

करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । ३ करोड ८५ लाख रूपैयाँमा ती पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो ।

२०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले जानकारी दिएकाे छ ।

तोकिएको समयमा काम नगर्दा ६ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए ।

‘तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ ।

प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ’ उनले भने ।

जाजरकोटको नलगाड नगरपालिका–११ र रुकुमपश्चिम आठबिसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पाको ठूलीभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताए । । यो पुल निर्माणको भाका थपिएको म्यादसमेत सकिन केही दिन बाँकी रहँदा पनि काम सुरु नै गरिएको छैन ।

सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदी माथिको यो पुल राजनीतिक नारा बन्दै आएको छ । अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रभित्र यो पुल पर्ने भएकाले बर्सेनि चुनावी नारा बन्दै आएको छ । यो पुल निर्माण नभएकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्री महँगो हुँदै आएको छ ।

त्यस्तै नलगाड–१० चौखामा रहेको ताक्सुगाड र वडा नं ८ को खमाउरे खोलामाथि पुल निर्माण गर्ने भनिए पनि निर्माणको सुरसार नहुँदा बर्सेनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गर्दछन् ।

त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा सात वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनुपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।

सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रुपमा यसलाई लिन सकिन्छ । यी पुल निर्माण नहुँदा डोल्पामा उत्पादन भएका स्याउ, जिम्बु र अन्य जडीबुटी ढुवानीमा समस्या थपिँदै आएको छ ।

सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायतका विभिन्न ठाउँबाट रुकुमपश्चिमको आठबीसकोटको माथिल्लो भाग तथा डोल्पा र जाजरकोटको माथिल्लो भागमा ल्याउने सामग्री पुलकै कारण बाधा पुग्दै आएको छ ।

झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकिलोको रु ४० मा बोकाएर लैजाँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ । रुकुमपश्चिमको आठबीसकोट–१२ मा रहेका खोलामा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेका छन् । सबै ठाउँमा एक वर्षअघि नै पुल निर्माण गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन ।

पुल निर्माण नहुँदा दैनिक उपभोग्य सामग्री स्थानीय मजदुरबाट ढुवानी गरेर मूल्य वृद्धि हुने गरेको छ । सबैभन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्या हुँदै गएको छ । निर्माणका सामग्रीदेखि जिल्लामा हुने सबैखालका विकासका काम यही सडकबाट ढुवानी हुने भएकाले हरेक सामग्री महँगो र तोकिएको समयमा पुग्ने गरेको छैन ।

जाजरकोट सदरमुकामबाट नलगाड–११ तल्लुसम्म कालोपत्रका लागि ठेक्का भएर काम सुरु गरिए पनि त्यो काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।

पुल र सडकको स्तरोन्नति ढिला हुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि प्रयोग हुने पहुँच मार्ग निर्माण तथा पुल निर्माणमा समेत समस्य देखिएको छ ।

पुल र सडक निर्माण छिटो भएमा आयोजनाको काममा सजिलो हुने आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले बताए ।  सडक डिभिजन चौरजहारीले भने निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै आएको छ । हेमन्त केसी/रासस 


Read Previous

बजार विष्लेषण प्रशिक्षक बन्दै त्रिभुवन विश्व विद्यालयका प्राध्यापकहरू

Read Next

मधेश प्रदेशमा विद्युत प्रसारण सञ्ञ्जाल बनाउँदै प्राधिकरण,५० अर्ब बढी लगानी आवश्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *