Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

६ वर्षमा ४ पटक मत माग्न आउँदा बनेन ७ किमी सडक


जोरपाटी । छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् ।

गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजाराैं मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल ७ किमी सडक भने ठेक्का भएको ९ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।

पटक–पटक मत माग्न आउने उम्मेदवारले भने सडक, खानेपानी, ढलको समस्या समाधान गरिदिने वाचा गर्छन् । विजयी भएर जानेले वाचा बिर्संदा दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडक हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा असहज हुनेगर्छ ।

एक दशकअघिदेखि जोरपाटी–सुन्दरीजल सडकको निर्माण सम्पन्न हुनसकेको छैन । यो सडकमा हिँड्नेलाई लाग्छ यो राजधानी सहर होइन । कुनै दुर्गम जिल्ला हो ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का गरेको थियो । जोरपाटी चोकमा गोकर्णेश्वर नगरपालिकाले सानो बजार चलाएर मासिक भाडा लिने ठाउँको सडकसमेत बन्न सकेको छैन ।

गत जेठमा कालोपत्र भएको केही सडक एक महिना नबित्दै भत्किएको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि रत्न टेलर्स चलाएर बसेका रत्नबहादुर सूचीकार सडक बनाएको केही दिनमै भत्कँदा पनि जनप्रतिनिधिले निर्माण व्यवसायीलाई फेरि बनाउन नलगाएकामा दुःखी छन् । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरअघिको सडक केही दिनमै भत्किँदा यहाँ आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको उनले सुनाए ।

२०७२ को संविधानपछि राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको छ । यहाँका नागरिकले भने सरकार भएको अनुभूति गर्न नसकेको खड्काको गुनासो छ । ‘विगत १५ वर्षदेखि यही निर्वाचन क्षेत्रमा मतदान गरिरहेको छु, यहाँका जनप्रतिनिधिले जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानलाई चरितार्थ गरेको मेरो अनुभव छ, राजनीतिमा युवा पुस्ताले ठाउँ पाएनन्’ उनले भने ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा पर्ने यहाँका मूल सडकको यो अवस्था छ भने भित्री सडकमा त हिँड्ने नसक्ने अवस्था छ । यही सडकबाट पर्यटकीयस्थल सुन्दरीजल र चिसापानी पुगिन्छ । २०४६ पछि व्यवस्था फेरिए पनि काठ क्षेत्र धेरै पर्ने यहाँको अवस्था फेरिन सकेको छैन ।

काठमाडौँ उपत्यकामा वाग्मती स्रोतबाट सबैभन्दा बढी पानी निर्यात गर्दै आएको यो क्षेत्रका स्थानीयवासी भने काकाकूल बन्दै आएका छन् । खानेपानीका सम्बन्धमा यो क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको छ ।

सुन्दरीजलमा पानीको दह बनाएर वर्षायाममा दैनिक १३ करोड र सुक्खायाममा दैनिक ९ करोड लिटर पानी काठमाडौँ उपत्यकामा पठाउने यो क्षेत्रका मानिस नै धारामा पानी नआउने गरेको गुनासो गर्छन् ।

गोकर्णेश्वर नगरपालिका–९ आरुबारीकी रीता तामाङ चुनावमा मत माग्न आउँदा उम्मेदवारले खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरेपनि विजयी भएपछि कार्यान्वयन नभएको बताइन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७ दशमलव ५ किमी सुरुङ मार्ग भएर ल्याउने पानी पनि यही क्षेत्रमा प्रशोधन हुन्छ ।

मेलम्चीको पानी पनि यो क्षेत्रका अधिकांशको धारामा वितरण नहुँदा यस क्षेत्रका मानिस पानी खोज्दै परम्परागत कुँवा, पोखरी, सार्वजनिक धारा एवं वाग्मतीलगायत नदीमा जान समय खर्च गर्न बाध्य छन् । यस्ता परम्परागत पानीका स्रोतमा पानी लिन आउनेको लाम लाग्ने गरेकाले पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता राजधानीमै पनि रहेको छ । (पूर्णप्रसाद मिश्र/रासस)


Read Previous

साझा यातायातले भित्राएका ३२ विद्युतीय बस निर्वाचनपछि सञ्चालन गरिने

Read Next

गण्डक जलविद्युत केन्द्रको पुर्नस्थापना र आधुनिकरण गरिने

Leave a Reply

Your email address will not be published.