Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बजेट निकासीसँगै नारायणी नदीमा तटबन्धन बनाउन सुरु    


चितवन । नारायणी नदीमा तटबन्धन निर्माण सुरु भएको छ । बजेट अभावमा अलपत्र परेकाे तटबन्ध निर्माण कार्य बजेट व्यवस्थापन भएपछि निर्माण कार्य सुचारु भएकाे हाे ।

बजेट अभावले कछुवा गतिमा काम हुँदै आएकाेमा रकम निकासी भएपछि नारायणी  नदी किनारमा भरतपुर महानगरपालिकातर्फ अधिकांश भूभागमा काम भइरहेकाे छ । गत असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका ३ खण्डमध्ये एउटा खण्डको काम थालिएको छ । अन्य २ खण्डमा छिट्टै काम थालनी गर्ने  महानगरकाे याेजना छ ।

अर्काे एक खण्डको बोलपत्र आह्वान भएर  यसै महिना  सम्झौता पनि गरिएको नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीले जानकारी दिए । उनका अनुसार अर्काे एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ ।

असारअघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनकाे काम गर्न ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।  गाँजीपुरदेखि हीरापुरसम्मको  अर्काे एक खण्डकाे ४८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

रामघाटदेखि काभ्रेघाटसम्मको तेस्राे खण्डकाे १ अर्ब १५ करोड रुपैयाँमा ठेक्का सम्झौता काम सुरु गरिएको छ । उनले अन्य २ खण्डको काम छिट्टै सुरु हुने बताए । सम्झौता भइसकेका ३ खण्ड ५ किलोमिटर लम्बाइका दरले निर्माण गरिनेछ । बालुवादेखि गोलाघाटसम्मको ७ किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध निर्माण हुँदैछ भने बाँकी  ४.५ किलाेमटरमा मर्मत सम्हार हुनेछ । यसका लागि २३ करोड रुपैयाँमा यसै महिना ठेक्का सम्झौता भएको हो ।

नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको खण्डकाे पनि बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ । नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो । बहुवर्षीय आयोजनाका रूपमा काम अघि बढाइएको छ ।

विगत १० वर्षदेखि काम थालिए पनि बजेट अभावमा काम हुन सकेकाे थिएन । अहिले बजेट व्यवस्थापन गरी सबै खण्डकाे काम अगाडि बढाइएकाे हाे ।नारायणी नदी तटबन्धनमा अहिले एकै पटक ५ अर्ब रुपैयाँ  लागतकाे काम अघि बढाइएको हो । याे बजेटबाट भरतपुर र नवलपरासी गरी दुवैतर्फ  काम हुँदैछ । आर्थिक वर्ष २०६६/६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारीरूपमा अगाडि बढ्न  सकेको थिएन ।

चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ । तटबन्ध निर्माण गर्दा चितवनतर्फका  लागि ९ अर्ब ५५ करोड रुपैयाँ  र नवलपरासीका लागि १४ अर्ब ४३ करोड रुपैयाँ खर्च हुने प्रस्तावित लागत रहेको छ । हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध बनाउने काम सम्पन्न गरी सकिएको छ ।

गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा १ लाख ९८ हजार ६ जना प्रत्यक्षरूपबाट लाभान्वित हुनेछन् । १४ हजार १९ हेक्टर जमिन डुबानबाट बच्नेछ ।   कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिनेछ । नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार ४ सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ ।

वर्षातकाे समयमा नदी कटान धेरै भएपछि रेणु दाहाल महानगर प्रमुख भएयता विगत ५ वर्षदेखि नदी तटबन्धनको मुख्य एजेण्डा लिएर आएकी थिइन् । दाहालले यसैलाइ एजेण्डा बनाएर  यसै एजेण्डामा स्थानीय चुनाव लडेकी चिइन् ।

सरकारका मन्त्री, सचिव र सम्बन्धित विभागका महानिर्देशकको उपस्थितिमा भरतपुर महानगरपालिकाले यो आयोजनालाई प्राथमिकतामा राखेर कार्यक्रमसमेत गरेको थियो । नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको महानगर प्रमुख दाहालले बताइन् । उनले सबैको साथ र सहयोगबाट तटबन्ध निर्माणकाे काम समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनकाे कटान समस्या सधैका लागि अन्त्य हुने बताइन् ।


Read Previous

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

Read Next

पूरा हुँदै सुनवल सबस्टेसन,बुटवल-लुम्बिनी लाइन सञ्चालनमा आएसँगै विद्युत आपूर्तिमा सुधार

Leave a Reply

Your email address will not be published.