Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले


काठमाडौं । मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) ग्रुप अफ फाउन्डेसनका अध्यक्ष शेष घलेले नेपालमा हरित हाइड्रोजन उत्पादनमा लगानी ल्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ आयोजना गर्न लागेको बताएका छन् । समीटबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष समेत रहेका घलेले विश्व नै हरित हाइड्रोजन उत्पादन गर्ने दिशामा अगाडि बढेकाले नेपालमा पनि छलफल तथा बहस हुन जरुरी भइसकेको हुँदा २ दिने समीट आयोजना गर्न लागिएको बताए ।

 ‘ग्रीन हाइड्रोजन उत्पादनका लागि प्रविधि छ । नेपालले पनि त्यसको उपयोग गर्नुपर्छ,’ उनले भने, ‘हामी अहिले ग्रीन हाइड्रोजन उत्पादनमा गएनौं भने कहिले जाने ? भन्ने प्रश्न आएपछि हामी समीट आयोजना गर्ने निर्णयमा पुगेका हौं ।’ घलेले समीटमा नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न वित्तीय हिसाबले कति सम्भव छ ? भन्नेबारे वृहत छलफल हुने बताए ।

विश्वका विभिन्न देशका विज्ञहरूलाई ल्याएर ग्रीन हाइड्रोजनको क्षेत्रमा काम गरिएमा सफल हुने उनको भनाइ छ । विश्वका धेरै देशले ग्रीन हाइड्रोजनको अध्ययन, उत्पादन, भण्डार र बजारीकरणका सम्बन्धमा नीति बनाइसकेकाले अब नेपालले पनि नीति ल्याउनु पर्नेमा उनले जोड दिए ।

‘धेरै देशले ग्रीन हाइड्रोजन सम्बन्धि नीति बनाइसके । नेपाल अहिलेसम्म पछाडि नै छ । तर, अझै पनि ढिलो भइसकेको छैन । नेपालले नेतृत्व लिएर अगाडि बढ्न सक्छ’ उनले भने । विश्वमा नेपाल र साउदी अरेबियामा सस्तो दरमा हरित हाइड्रोजन उत्पादन गर्न सकिने तथ्यांक अध्ययनबाट आइसकेकाले समिटले नीति निर्माणका लागि सरकारलाई घच्घच्याउने पनि घलेले बताए ।

नेपालले सन् २०४५ सम्ममा नेट जिरो इमिसनमा जाने घोषणा गरिसकेकाले कार्बन उत्सर्जन न्युनिकरण गर्न ग्रीन हाइड्रोजनमा लगानी गर्न समीटले प्रोत्साहन गर्ने उनले बताए ।

फाउन्डेसनकी संस्थापक जमुना गुरुङले नेपालले आन्तरिक विद्युत उत्पादन बढाउँदै लगेकाले हरित हाइड्रोजनमा लगानीका लागि उचित वातावरण तयार होस् भन्ने उद्देश्यले समिट आयोजना गर्न लागिएको बताइन् । ‘अहिले हरित हाइड्रोजन विश्वकै लागि अध्ययनको विषय हो । नेपालसँग पनि ऊर्जाका नवीकरणीय स्रोतबाट उत्पादन भएको विद्युत बर्खामा संचित हुन लागेको छ’, उनले भनिन्,‘त्यसकारण पनि हामीले आयोजना गर्न लागेको समिटमा ग्रीन हाइड्रोजनमा लगानीको सम्भावनाबारे छलफल हुन्छ ।’

नेपालमा लागतका हिसाबले हरित हाइड्रोजन उत्पादन सस्तो देखिएकाले समिटले लगानी आकर्षित गर्ने उनले बताइन् । ‘प्रदुषण र घरभित्रको धुवाँका कारण स्वास –प्रस्वास समस्याले वर्षेनी नेपालमा ४० हजार मानिले ज्यान घुमाइरहेका छन् । केही समय लाग्ला तर, २ चक्के सवारी साधन धुवाँरहित बनाउन हरित हाइड्रोजन इन्धनको विकल्पमा जानु पर्छ’ उनले भनिन् ।

ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जिजिजिआइ) का प्रतिनिधी साले रिङ्ग्विसले नेपालमा हरित हाइड्रोजन उत्पादनको प्रसस्त सम्भावना रहेको बताए । उनले आफ्नो संस्थाले दक्षिण कोरियामा हरित हाइड्रोजन उत्पादनको सम्भावनाबारे अध्ययन गरिरहेको पनि बताए ।

‘कोरियामा हरित हाइड्रोजन उद्योगका लागि आवश्यक नवीकरणीय ऊर्जाको स्रोतको अभाव छ । तै पनि दक्षिण कोरियाले हरित हाइड्रोजन उत्पादनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’, उनले भने, ‘नेपालको ऊर्जाको स्रोत नै जलविद्युत भएकाले नेपालमा त मैले हरित हाइड्रोजन उत्पादनको प्रसस्त सम्भावना देखेको छु ।’

विन्ड पावरका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङले २ दिने समीटमा हरित हाइड्रोजन उत्पादनमा प्रयोग हुने प्रविधि, वित्तीय स्रोत व्यवस्थापन र नीतिबारे वृहत छलफल गरिने बताए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गने उद्देश्यले स्वच्छ ऊर्जा र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी अभिवृद्धि गर्ने आगामी असोज २४ र २५ गते (अक्टोबर १० र ११) मा समिट आयोजना हुँदैछ । एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउन्डेसन, अर्थ एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले संयुक्त रूपमा नेपालमै पहिलो पटक ग्रीन हाइड्रोजन समीट आयोजना गर्न लागेका हुन् ।

ताहाचलस्थित होटल सोल्टी काठमाण्डौंमा आयोजना हुने सम्मेलनका लागि ‘नेपाल हरित हाइड्रोजन सम्मेलनः पग्लिदै गरेका हिमालहरुका लागि एन्टीडोट’ नारा दिइएको छ । हरित हाइड्रोजनको उत्पादन, भन्डारण र वितरण क्षमताको अध्ययनमा टेवा पुर्याउने समीटको लक्ष्य छ ।

समीटमा नेपालमा हरित हाइड्रोजनको उत्पादन र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा बहस, विश्लेषण हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपालमा पर्यावरणीय रुपमा दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने लक्ष्य पनि समीटले लिएको छ ।
सम्मेलनमा नेपालका उद्योग क्षेत्रका उच्च तथा प्रतिष्ठित व्यक्तित्व, विभिन्न मन्त्रालय र सरकारी कार्यालयका प्रतिनिधि, नेपाल विकास साझेदारका प्रतिनिधि, बहुपक्षीय अन्तर्राष्ट्रि समुदाय, संयुक्त राष्ट्रसंघीय एजेन्सी, विदेशी दुतावास, अन्तराष्ट्रिय विज्ञ र हरित हाइड्रोजन प्रविधिमा काम गरिरहेका प्रमुख कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पूर्वाधारमा लगानी गर्नुपर्ने विषयमा विश्वव्यापी रूपमा छलफल भइरहेको सन्दर्भमा हरित हाइड्रोजन सम्मेलनले महत्त्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, नेपालले पर्यावरणीय समस्याको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउन पनि समीट महत्त्वपूर्ण हुने अपेक्षा पनि गरिएको छ ।

समीटमा जलविद्युतको उपयोगबाट हरित हाइड्रोजन उत्पादन र उत्पादित हाइड्रोजनलाई अमोनिया उत्पादनमा प्रयोग गर्ने र यस बाहेक हाइड्रोजनलाई अरु कुन–कुन क्षेत्रमा प्रयोग गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेर छलफल गरिने आयोजकले जनाएको छ ।

नीतिगत सुधारका लागि इनोभेटिभ वित्तीय मोडालिटी, वैदेशिक प्रत्यक्ष लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधिको प्रयोग र नीति निर्माणका लागि बलियो आधार निर्माण गर्न पनि सम्मेलनले उल्लेखनीय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।


Read Previous

पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन

Read Next

कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने

Leave a Reply

Your email address will not be published.