Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

६ घन्टा पिकिङ दिने कालीगण्डकी गर्ज निर्माणमा जाँदै,४३ अर्ब लगानी आवश्यक


काठमाडौं । मुस्ताङ र म्याग्दी जिल्लामा संरचना रहने गरी कालीगण्डकी नदीमा पहिचान भएको १८० मेगावाटको कालीगण्डकी गर्ज अर्धजलाशय जलविद्युत आयोजना सन् २०२३ भित्र निर्माणमा जाने भएको छ । पहिचान भएको करिब डेढ दशकपछि यो आयोजना निर्माणमा जान लागेको हो ।

विद्युत नियमन आयोगले आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न गत शुक्रबार सार्वजनिक सुनुवाई गरेको छ । आयोग गठनपछि ऐन र नियमावलीमा रहेको १ सय मेगावाट माथिका जलविद्युत आयोजनाको पिपिए दर आयोगबाट स्वीकृत गर्नुपर्ने प्रावधानअनुसार कालीगण्डकी गर्जको पनि सार्वजनिक सुनुवाई गरिएको अध्यक्ष डिल्लीबहादुर सिंहले बताए ।

आयोजनाबारेको आर्थिक तथा प्राविधिक जानकारी सूचनामार्फत पहिले नै भइसकेकाले समेत सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीबाट धेरै जिज्ञासा नआएको उनले बताए । ‘यो आयोजनाले दिने प्रतिफल केही कमजस्तो देखिए पनि विगतमा सरकारी तहबाट बनेका आयोजनाको भन्दा राम्रो नै मान्नु पर्छ,’उनले भने,‘लगानी अनुपात पनि ८० र २० प्रतिशतको छ । यसले आयोजनालाई फाइदा दिन्छ ।’ उनले लगानी अनुपात सुनिश्चित हुनुले आयोजनामा वित्तीय स्रोत जुटाउन धेरै समय नलाग्ने देखिएको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा प्राविधिक विवरण प्रस्तुत गर्दै हाइड्रो पावर इन्जिनियर राजेश शाक्यले आयोजनाको अध्ययन, डिजाइन लगायत सम्पूर्ण कार्य पूरा भइसकेकाले अब संरचना निर्माणको काम अघि बढाउने चरणमा पुगेको बताए । उनले नेपाल विद्युत प्राधिकरणसँग १८० मेगावाटको ड्राफ्ट (मस्यौदा) विद्युत खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेकाले आयोगले दर निर्धारण गरेर पिपिएको स्वीकृति दिएपछि आयोजना अगाडि बढ्ने बताए ।

‘हामीले अगाडि गर्नुपर्ने करिब धेरै काम गरिसकेका छौं,’ उनले भने,‘स्वदेशी बैंकहरूसँग वित्तीय स्रोत जुटाउनेबारे धेरै चरणमा छलफलहरू भएका छन् । बैंकहरूसँगको ऋण लगानी जुटाउने प्रक्रियामा छौं । प्राधिकरणसँग पिपिए भएपछि आयोजना स्थलमा काम सुरु हुन्छ ।’

यो आयोजना निर्माण सम्पन्न गर्न ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । प्रवर्द्धक कम्पनीका सिए अनिल अग्रवालले कूल ४३ अर्ब रुपैयाँ लागत अनुमान गरिएकोमा बैंक तथा वित्तीय संस्थाबाट ८० प्रतिशत र स्वपुँजी लगानी २० प्रतिशत रहने गरी आयोजा निर्माण हुन लागेको बताए ।

उनले औसत ११ प्रतिशत ब्याजदरलाई आधार मानेर आयोजना निर्माण गर्दा १५ वर्षमा बैंक तथा वित्तीय संस्थाको ऋण तिर्न सकिने बताए । ३५ वर्षको उत्पादन अनुमतिपत्र रहेको आयोजनाले निर्माण पश्चात लगानीको १५.३८ प्रतिशत प्रतिफल दिने पनि उनले बताए ।

आयोजनाका प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधानले डेढ दशकअघि नै आयोजना पहिचान भए पनि सडक पुहँच तथा प्रसारण लाइन नहुँदा काम सुरु गर्न समय लागेको बताए । आयोजना पहिचान भएपछि विदेशी लगानीबाट निर्माण गर्न पहल गरिए पनि अहिले स्वदेशी लगानीबाटै निर्माण गर्ने निर्णयमा पुगेको पनि उनले बताए ।

उनले अब ढिला नगरी संरचना निर्माणको काम अगाडि बढाउने बताए । ‘हामीले उत्पादन अनुमतिपत्र लिएको समय धेरै गुज्रिसकेको छ । त्यसकारण पनि हामीलाई आयोजना चाँडो सम्पन्न गर्नुपर्ने दवाव छ । ऋण लगानी जुट्दै गर्दा स्वपुँजी लगानीबाट काम सुरु गर्दैछौं’ उनले भने । उनले आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम पनि सम्पन्न भइसकेको बताए ।

कालीगण्डकी गर्ज हाइड्रो पावर कम्पनी प्रवर्द्धक रहेको आयोजना निर्माण सुरु गरेको ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ । आयोजना १८० मेगावाटमा निर्माण गर्ने भनिए पनि विद्युत विकास विभागले १६४ मेगावाटको उत्पादन अनुमतिपत्र दिएको छ ।

प्राधिकरणसँग हिउँदमा पिकिङ अवधिभर प्रतियुनिट १०.५५ रुपैयाँ,बर्खामा ८.४० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँ दररेटमा आयोजनाको ड्राफ्ट पिपिए भएको छ । प्रवर्द्धक कम्पनीले ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउने छ । आयोगले दर स्वीकृत गरेपछि प्राधिकरणले आयोजनाको पिपिए गर्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलनमा घिसिङले १० मेगावाटको आयोजना निर्माण गर्ने निजी क्षेत्र आज ठूला आयोजनामा लगानी गर्न आउनुले उसको आर्थिक तथा प्राविधिकरूपमा क्षमतामा स्तरोन्नति भएको बताए । ‘अहिले करिब ११ हजार मेगावाटका जलविद्युत आयोजना पिपिएका लागि पालो कुरिरहेका छन् । अबको आवश्यकता भनेको सुख्खा यामको पनि माग धान्ने जलविद्युत आयोजना निर्माण गर्नु रहेकाले सरकारको नीति अनुरुप नै प्राधिकरणले पनि अर्धजलाशय आयोजना निर्माणलाई प्राथमिकतामा राखेको छ’ उनले भने ।

वार्षिक २० प्रतिशत हाराहारीमा विद्युतको माग बढिरहेकाले पनि अर्धजलाशय आयोजनाको आवश्यकता अनुसार नै कालीगण्डकी गर्ज आयोजना अगाडि बढ्न लागेको उनले बताए । अब पिपिए हुँदा वित्तीय स्रोत जुटाएर बढीमा ७ वर्षभित्र आयोजना आएमा बढ्दो माग व्यवस्थापन गर्न सहज हुने उनले बताए ।

प्राधिकरण विद्युत व्यपार विभागका निर्देशक प्रबल अधिकारीले आयोगको सार्वजनिक सुनुवाईबाट स्वीकृति दिएपछि आयोजनाको पिपिए अगाडि बढ्ने बताए । उनले दैनिक ६ घन्टा पिकिङ दिने आयोजना निर्माण हुन लाग्नु सुखद पक्ष भएको बताए ।

‘सुख्खा यामको माग व्यवस्थापन आन्तरिक उत्पादनबाट नै गर्न अर्धजलाशय आयोजनाको महतत्व बढेको हो । यस्ता आयोजना निर्माणले प्राधिकरणको प्रसारण तथा वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन सहयोग पुग्छ’ उनले भने ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी प्रवर्द्धक गुरूप्रसाद ढकालले माथिल्लो तटमा बन्ने अर्धजलाशय जलविद्युत आयोजनाका कारण तल्लो तटिय क्षेत्रमा बन्ने आयोजना समस्यामा पर्न नहुने कुरामा जोड दिन आयोगको ध्यानाकर्षण गराए । उनले कालीगण्डकी गर्जको तल्लो तटिय क्षेत्रमा आफ्नो आयोजना पर्ने हुँदा कालीगण्डकी गर्जको प्रवद्र्धकसँग एउटा टर्बाइनसम्म चल्ने पानी छोड्ने व्यवस्था गरिदिएमा राम्रो हुने बताए ।

‘हामीले लिखितरूपमा पनि यसबारे जानकारी गराएका छौं । आयोगमा पनि लिखितरूपमा दिनु परेमा म दिन तयार छु । तर, एउटा आयोजनालाई न्याय गर्दा अर्को आयोजनाका प्रवद्र्धकलाई अन्याय नहोस् भन्ने मेरो धारणा हो’ उनले भने ।

ढकालको जवाफमा आयोजनाका प्रवर्द्धक प्रधानले तल्लो तटिय क्षेत्रको आयोजनाबारे जानकार नरहनेको र मर्का नपर्ने गरी सहमति गरेर अगाडि बढ्न तयार रहेको बताए । ‘तत्लो तटिय क्षेत्रमा उहाँहरूको आयोजना छ भन्नेबारे हामी पूर्ण जानकार छौं । यो विषयमा उहाँहरूसँग पटक–पटक छलफल पनि भएको छ,’उनले भने, ‘हामीले त त्यो आयोजनालाई पनि हाम्रो टेलरेसको पानी उपयोग हुने गरी अर्धजलाशय बनाउन आग्रह गरेका छौं । हामी सहमति गरेरै जाने पक्षमा छौं ।’

जलविद्युत व्यवसायी सूर्य अधिकारीले राज्यकाे नीति अनुरूप अर्धजलाशय आयोजना आउनु देशकाे समृद्धिका लागि राम्राे भएकाे बताए । उनले माथिल्लाे तमाेर र कालीगण्डकी गर्ज अर्धजलाशय आयोजना निर्माण हुँदा निजी क्षेत्रले ठूलाे फड्काे मार्ने बताए । उनले ठूला आयोजना  निर्माण हुँदा प्रविधि हस्तान्तरण र जनशक्तिकाे क्षमतामा स्तराेन्नति हुने बताए । तल्लाे तटिय क्षेत्रका आयोजना समस्यामा पर्ने अवस्था आएमा पुनः अध्ययन गरेर अगाडि बढ्न सकिने सुझाव उनले दिए ।

यो आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने विद्युत डेढ किलोमिटर दुरीको २२० केभी दाना सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न हुँदा वार्षिकरूपमा १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३ सय १३ गिलोवाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले सुख्खा याममा पनि ६ घन्टासम्म पूर्ण क्षमतामा विद्युत उत्पादन गर्नेछ ।


Read Previous

विश्व बैंकसँग डिजिटल विकास, क्षेत्रीय यातायात र व्यापार वृद्धि गर्ने पूर्वाधारको लागि ५३ अर्ब ऋण सम्झौता

Read Next

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष, एयरपोर्ट सिटीको विकास भने त्याग्नुपर्ने

Leave a Reply

Your email address will not be published.