Nepal Purbadhar

पूरा हुँदै नुवाकोट सौर्य विद्युत आयोजना, १९.६२ मेगावाट प्रणालीमा जडान


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको २५ मेगावाटको सौर्य विद्युत आयोजना पूरा हुने चरणमा पुगेको छ । ठेक्का सम्झौता भएको ५ वर्षपछि यो सौर्य विद्युत आयोजना सम्पन्न हुन लागेको हो ।

लक्ष्यभन्दा साढे ४ वर्ष ढिला गरी सौर्य विद्युत आयोजनाको २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुन लागेको हो । अबको २ साताभित्रमा २५ मेगावाट विद्युत नै प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको आयोजना प्रमुख विकास रघुबंसीले बताए । उनका अनुसार अहिलेसम्ममा सौर्य विद्युत आयोजनाको ७ स्थानमध्ये ६ स्थानको काम सम्पन्न भइसकेको छ ।

‘यो सौर्य विद्युत आयोजनाका ७ वटा साइटहरू छन् । ती मध्ये ६ वटाको सबै काम सम्पन्न भई १९.६२ मेगावाट विद्युत प्रसारण प्रणालीमा आइसकेको छ,’उनले भने,‘अब बाँकी रहेको एउटा साइटको काम सकिन लागेकाले थप ५.५८ मेगावाट पनि प्रणालीमा जोड्ने तयारीमा छौं ।’

पहिलो साइटको ९.७६ मेगावाट विद्युत २०७७ माघ १८ गते प्रणालीमा आएको थियो । दोस्रो साइटको १.२८ मेगावाट २०७७ फागुन १६ मा प्रणालीमा जोडिएको थियो । तेस्रो (२.१८ मेगावाट) , चौंथो (१.९६ मेगावाट) , पाँचौं (१.९६ मेगावाट) र छैटौं (२.४८ मेगावाट) साइटहरू क्रमशः २०७८ सालको कात्तिक, पुस र चैतमा प्रसारण प्रणालीमा जोडिएको रघुबंसीले बताए ।

सम्पन्न भइसकेका सौर्य विद्युत आयोजनाको विद्युत देवीघाट जलविद्युत केन्द्रको स्वीचयार्डमा जोडिएको छ । ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना अन्तर्गत विश्व बैंकको सहुलियतपूर्ण ऋण सहायतामा यो सौर्य विद्युत आयोजना निर्माण भइरहेको हो । सौर्य विद्युत आयोजना सम्पन्न हुँदा प्रतिमेगावाट लागत १६ करोड रुपैयाँ पुग्ने देखिएको रघुबंसीले बताए ।

लागतका हिसाबले यो सौर्य विद्युत आयोजना निजी क्षेत्रले निर्माण गरेका सौर्य विद्युत आयोजनाको तुलनामा महंगो देखिएको छ । निजी क्षेत्रले व्यापारिक विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण गरेका सौर्य विद्युत आयोजना प्रतिमेगावाट ८ करोड रुपैयाँ लागतमा पूरा भएका छन् ।

सन् २०१७ मा ठेक्का सम्झौता भएको यो सौर्य विद्युत आयोजना काम थालेको ६ महिनाभित्र सम्पन्न गर्ने तालिका थियो । तर, आयोजना सम्पन्न भई सञ्चालनमा आउन ५ वर्ष लाग्यो ।

परामर्शदाताको समस्या, कोरोना महामारी, ठेक्का विवाद लगायत विविध कारणले सौर्य विद्युत आयोजना सम्पन्न हुन समय लागेको रघुबंसीले बताए । ‘सुरुवातदेखि नै आयोजना विवादमा तानिँदा अलमल भयो । जर्मन परामर्शदाताले पनि डिजाइन समिक्षा गर्न समय लगाएपछि सम्झौता तोडेर इनइए इन्जिनियरिङबाट काम गराउनु पर्यो र समय बढ्दै गयो’ उनले भने ।

कोभिड–१९ महामारी तथा आयात गरिएका उपकरण केरुङमा ८ महिना रोकिँदा समेत त्यसको प्रभाव आयोजनामा परेको उनले बताए । चीनको राइसेन इनर्जी कम्पनीले आयोजनाको काम गरिरहेको छ । सौर्य ऊर्जा प्रविधि जडान गर्नका लागि विभिन्न ७ स्थापनमा गरी ५ सय रोपनी जग्गा उपयोग भएको प्राधिकरणले जनाएको छ ।

Facebook Comments

Read Previous

नेट जिरो इमिसन लक्ष्यः चुनौतीका चाङ, कार्य योजना छैन

Read Next

लगानी अभाव र सार्वजनिक निजी साझेदारीकाे कार्यान्वयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar