
रसुवा। ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवाको टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन्। सरकारले स्थायी तथा अस्थायी बसोबासको व्यवस्था गर्न नसकेपछि उनीहरू जोखिमपूर्ण अवस्थामै गाउँ फर्किएका हुन्।
गत भदौ १० गतेको बाढीबाट विस्थापित ६८ घरधुरीमध्ये ४८ जना स्थानीयवासी मंसिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका छन्। बाढीपछि केही पीडित भाडाको कोठामा बस्दै आएका थिए भने केही काठमाडौंमा बस्न नसकेपछि गाउँ फर्किएका हुन्।
स्थानीय कामीनुर्पु तामाङका अनुसार जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले विस्थापित परिवारका प्रतिनिधि गाउँ फर्किएका हुन्। खेतीकिसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ आफूहरू फर्किएको उनले बताए।
सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म र कसरी गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उनको भनाइ छ। विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उनले जानकारी दिए। उनका अनुसार बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौंमा बसेर जीवनयापन गर्न सक्ने अवस्थामा छैनन्।
स्थानीय पेमा दोर्जे घलेका अनुसार बाढीपछि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना विस्थापितले आश्रय लिएका थिए। तीमध्ये १५१ बालबालिका र ८० जना ज्येष्ठ नागरिक थिए।
सरकारले अहिलेसम्म विस्थापितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्नेबारे ठोस निर्णय नगर्दा बाढीपीडित थप अन्योलमा परेको स्थानीयको भनाइ छ।

