
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीतिगत सुधार र सुशासनका कारण चालु आर्थिक वर्षमा राजस्व संकलन उत्साहजनक रहेको दाबी गरेका छन्। उनले असोज महिनामा सरकारले तोकेको कर राजस्वको लक्ष्य पूरा भएको र सुधारका प्रयासले नतिजा दिन थालेको बताए।
आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको राष्ट्रिय कर दिवस २०८३ कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलनसमेत उत्साहजनक रहेको जानकारी दिए।
उनका अनुसार सरकारले अर्थतन्त्र सुधारका लागि अघि सारेका नीतिगत कदम, सुशासन र कर प्रशासनमा गरिएको सुधारले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ। बम्पर उपहार योजनाले पनि कर अनुपालन बढाउन उत्प्रेरकको भूमिका खेलेको उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले कर प्रशासनको डिजिटल रूपान्तरण र स्वचालनलाई प्राथमिकता दिइएको बताउँदै आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सुरक्षित तथा करदातामैत्री बनाउन प्राविधिक सुधार भइरहेको जानकारी दिए।
कारोबार, लेखा प्रतिवेदन, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउने सरकारको योजना रहेको उनले बताए।
सरकारले उद्यम तथा व्यवसाय प्रवर्द्धन, लगानी विस्तार र अर्थतन्त्रलाई चलायमान बनाउन भन्सार महसुल, अन्तःशुल्कलगायतका क्षेत्रमा कर नीतिगत सुधार गरिरहेको पनि उनले उल्लेख गरे।
कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरूपको करदाता पोर्टल शुभारम्भ गरे। सोही अवसरमा आन्तरिक राजस्व विभागको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिका पनि विमोचन गरिएको थियो।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले नीतिगत सुधारका कामलाई विभागले उच्च प्राथमिकतामा राखेको जानकारी दिए।

