Nepal Purbadhar

मन्त्रीश्रेष्ठले भेटे भारतीय राजदूत दलेला: नेपाल-भारत ऊर्जा सहकार्य विस्तारबारे छलफल


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच ऊर्जा तथा जलस्रोत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

मंगलबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल-भारत सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिए।

भेटमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। त्यस्तै, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार, निर्माणाधीन परियोजना निर्धारित समयमै सम्पन्न गर्ने र विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि विचारविमर्श भएको थियो।

यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे छलफल भएको छ।

दुवै पक्षले ऊर्जा तथा जलस्रोत क्षेत्रमा आपसी सहकार्यलाई प्रभावकारी बनाउँदै द्विपक्षीय हितका आयोजनालाई गति दिनुपर्नेमा जोड दिएका छन्।


Read Previous

हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणले पायो अनुमति

Read Next

तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायी निराश, चीनसँग उच्चस्तरीय वार्ताको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar