
काठमाडौं । सम्भावित अर्नव चक्रवातका कारण मौसम प्रतिकूल हुन सक्ने भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सञ्चालनमा उच्च सतर्कता अपनाउन व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार सूचना जारी गर्दै बिहीबार रातिदेखि कात्तिक १४ गतेसम्म देशका विभिन्न प्रदेशमा खराब मौसमको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरेका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसमको बढी प्रभाव पर्न सक्नेछ। कर्णाली र सुदूरपश्चिममा हावाहुरी तथा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
महासङ्घले सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै लामो तथा छोटो दूरीका यात्रुवाहक र मालवाहक सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ। जोखिमपूर्ण अवस्था देखिएमा आवश्यकताअनुसार सवारी आवागमन रोक्न र त्यसअघि सर्वसाधारणलाई जानकारी गराउन पनि भनिएको छ।
खराब मौसमले सडक तथा हवाई यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न महासङ्घले अनुरोध गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भ्रमणमा जाने पर्यटकलाई यात्रा नगर्न र गइसकेका पर्यटकलाई मौसम सामान्य नहुँदासम्म सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।
त्यस्तै, जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारलाई सम्भावित विपद्अघि नै सुरक्षित स्थानमा सर्न र सम्बन्धित निकायलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनिएको छ।
महासङ्घले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको हटलाइन ११५५ तथा विपद्का बेला सहयोगका लागि १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

