
चितवन। निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। करोडौँ रुपैयाँ खर्चेर संरक्षण गरिएका संरचना बाढीपछि क्षतविक्षत बनेका छन्।
नारायणगढस्थित चितवन महोत्सव आयोजना स्थलमा अहिले ढुंगा र माटो मात्रै देखिन्छ। नदीको बहाव र कटानका कारण किनारका विभिन्न स्थानमा जमिन कटान भएको छ भने कतिपय संरचनामा समेत क्षति पुगेको छ।

नारायणी किनारलाई ‘सी-बिच’ मोडलमा विकास गरी निर्माण गरिएका संरचनाले बाढीबाट थप क्षति हुन नदिन केही हदसम्म भूमिका खेले पनि किनार क्षेत्रको अवस्था भने खण्डहरजस्तै बनेको छ।
बाढीका कारण नदी किनारमा रहेका कतिपय घर तथा पसलमा समेत पानी पसेको थियो। अचानक बाढी आएपछि कतिपय स्थानीयले घर तथा पसलमा रहेका सामानसमेत सुरक्षित स्थानमा सार्न पाएनन्। अहिले प्रभावित स्थानीय सरसफाइ र सामान व्यवस्थापनमा व्यस्त छन्।
नदीको कटान निरन्तर बढ्दै गए नारायणगढ बजारसमेत जोखिममा पर्न सक्ने स्थानीयले चिन्ता व्यक्त गरेका छन्। सन् २०१९ सालदेखि नारायणगढमा बस्दै आएका प्रभातकुमार जोशीले नारायणी किनारको संरक्षणमा तत्काल विशेष ध्यान दिनुपर्ने बताए।

उनले नदीको संरक्षण नगरी किनार क्षेत्रमा बस्ती विस्तार गर्दै जाने हो भने नारायणगढ बजारको भविष्यसमेत जोखिममा पर्न सक्ने बताए।
बाढीपछि तत्काल माटो र ग्राभेल भरेर मात्रै क्षतिग्रस्त क्षेत्र पुनःस्थापना गर्नेभन्दा नदीको बहाव, कटानको प्रकृति र भविष्यमा आउन सक्ने जोखिमलाई ध्यानमा राखेर दीर्घकालीन तथा वैज्ञानिक संरक्षणको काम गर्नुपर्ने देखिन्छ।

तस्बिर : राजेन्द्र आचार्य/नेपाल फोटो लाइब्रेरी

