
फाइल फोटो।
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन्।
मन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। उनी सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रममा सहभागी हुन कोरिया जाने तयारीमा थिए।
तर देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा निरन्तर वर्षाका कारण ठूलो जनधनको क्षति भएपछि उनले भ्रमण स्थगित गरेका हुन्।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्याएको थियो। त्यसैगरी असोज ८ देखि ११ गतेसम्म भएको निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा पुनः बाढी, पहिरो तथा डुबानका घटना भएका छन्।
विपद्का कारण मानवीय क्षतिका साथै सडक, पुल, विद्युत् र सञ्चारलगायत भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा उद्धार, राहत, समन्वय तथा प्रभावित नागरिकसँगको सम्पर्कमा समेत कठिनाइ भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तो अवस्थामा प्रभावित क्षेत्रमा सञ्चार सेवा यथासक्य छिटो पुनःस्थापना तथा नियमित गर्नुपर्ने भएकाले मन्त्री तिमिल्सिनाले मुलुकभित्रको विपद् व्यवस्थापन र सञ्चार सेवा सञ्चालनसम्बन्धी कामलाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार कोरिया भ्रमणमा सहभागी हुन नसक्ने जानकारी आयोजक पक्षलाई गराउन सञ्चार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ।
मन्त्रालयका अनुसार भ्रमण स्थगित गर्नुको मुख्य कारण देशका विभिन्न क्षेत्रमा विपद्का कारण उत्पन्न असहज परिस्थिति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र सञ्चार सेवा सञ्चालनलाई प्राथमिकता दिनुपर्ने अवस्था हो।

