
काठमाडौं। सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरू गरेको छ।
लामो समयदेखि लाइसेन्स छपाइमा देखिँदै आएको ढिलाइ र सेवाग्राहीको बढ्दो चापलाई सम्बोधन गर्न पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले नयाँ प्रणालीमार्फत छपाइ प्रक्रिया अघि बढाएको हो।
नयाँ व्यवस्थाअनुसार ईडीएलभिआरएसमा सेवाग्राहीको विवरण प्रविष्ट भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्नेछ। सुरक्षण मुद्रणले सोही विवरणका आधारमा लाइसेन्स छपाइ गरेपछि हुलाक सेवामार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ।
यसले लाइसेन्स छपाइदेखि सम्बन्धित कार्यालयसम्म पुर्याउने प्रक्रियालाई व्यवस्थित बनाउँदै विगतमा देखिँदै आएको छपाइ तथा वितरणसम्बन्धी समस्या घटाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ प्रणालीबाट पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ ओटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको छ। छपाइ भएका लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइसकिएको जनाइएको छ।
नयाँ व्यवस्थाअनुसार सम्बन्धित प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरेर आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ सुरू गरिसकेको छ।
लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी सवारी चालक अनुमतिपत्र छपाइ सुरू गरेको छ।
यस्तै, कुनै प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा सेवाग्राहीको चाप र लाइसेन्सको आवश्यकतालाई ध्यानमा राखेर यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको छ।
मन्त्रालयका अनुसार नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै प्रदेशअनुसार लाइसेन्स छपाइको जिम्मेवारी व्यवस्थापन गर्दै सेवाग्राहीलाई सहज, छिटो र समयमै सवारी चालक अनुमतिपत्र उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

