
कान्ति लोकपथ, फाइल तस्बीर।
हेटौँडा। हेटौँडाबाट काठमाडौं आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै दुवै मार्गमा दुईतर्फी सवारी आवागमन खुला गरिएको हो।
त्रिभुवन राजपथले हेटौँडालाई पालुङ-नौबिसे हुँदै काठमाडौंसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव-ललितपुर हुँदै काठमाडौं उपत्यकासँग जोड्छ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी व्यवस्था गरिएको थियो।
कृष्णभीर खण्ड सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाइएको सुवेदीले बताए। अब दुवै राजमार्गमा सवारीसाधन नियमित रूपमा दुवैतर्फ सञ्चालन गर्न सकिनेछ।


