
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बाढी प्रभावित विद्यालय तथा शैक्षिक पूर्वाधारको अवस्था बुझ्न नुवाकोटका विभिन्न क्षेत्रमा स्थलगत अनुगमन गरेका छन्।
मन्त्री पोखरेलसहितको टोलीले मंगलबार नुवाकोटका विभिन्न शैक्षिक संस्था तथा पूर्वाधारको निरीक्षण गरेको हो। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका क्रममा मन्त्री पोखरेलले विद्यालय भवन, शैक्षिक पूर्वाधार तथा विद्यार्थीको पठनपाठनको अवस्थाबारे जानकारी लिए।
उनले प्रभावित क्षेत्रमा स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग अन्तरक्रियासमेत गरेका थिए।
अनुगमन टोलीमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमल्सिना, स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिको सहभागिता थियो।
भ्रमण कार्यतालिकाअनुसार अनुगमन कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ, विदुरबाट सुरु भएको थियो। त्यसपछि त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको पुलवारी क्षेत्रबाट बाढी प्रभावित स्थानको अवलोकन गरिएको थियो।
टोलीले न्यूरेनी सुन्दरी माध्यमिक विद्यालयस्थित होल्डिङ सेन्टर, सामुदायिक बहुउद्देश्यीय भवन तथा विदुरस्थित नुवाकोट दरबारको समेत अवलोकन गरेको थियो।
त्यस्तै, विदुरस्थित कर्भट हल, चन्द्रज्योती माध्यमिक विद्यालय तथा अन्नपूर्ण पञ्चकन्या आधारभूत विद्यालयका भवनको समेत अनुगमन गरिएको थियो।
भ्रमणका क्रममा बाढीका कारण शैक्षिक संस्थाका भवन तथा अन्य पूर्वाधारमा परेको क्षति, विद्यालय सञ्चालनको अवस्था र विद्यार्थीको पठनपाठनमा परेको प्रभावबारे स्थलगत जानकारी लिइएको थियो। प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक गतिविधि सहज बनाउन आवश्यक पहल गर्ने विषयमा समेत सरोकारवालासँग छलफल गरिएको थियो।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तह प्रभावित भएका थिए। सरकारले ती स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीका कारण १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ।
