
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सप्तरंगी इन्द्रेणी बौद्ध समाज स्वयम्भुले प्रधानमन्त्री राहत कोषमा २ लाख १ हजार १०१ रुपैयाँ सहयोग गरेको छ।
समाजका अध्यक्ष मनिक लामाले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। मन्त्री श्रेष्ठमार्फत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
चेक हस्तान्तरण कार्यक्रममा बौद्ध लामाहरूले देशमा आएको विपत्तिबाट मुक्ति मिलोस् भन्ने कामनासहित मन्त्रोच्चारण समेत गरिएको थियो।
मन्त्री श्रेष्ठले विपद्का बेला सहयोगका लागि हातेमालो गरेकोमा समाजलाई धन्यवाद दिए। सरकार, सरोकारवाला निकाय र नागरिकको सामूहिक प्रयासबाट देशलाई छिट्टै संकटबाट बाहिर निकाल्न सकिने विश्वास उनले व्यक्त गरे।
