
काठमाडौं । नेपाली सेनाले जलविद्युत् आयोजनाका सुरुङमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म जारी रहने जनाएको छ।
सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले सरकारले खोजी रोक्ने निर्णय नगरेसम्म सबै सुरुङमा निरन्तर खोजी गरिने बताए।
भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका ११ ओटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)का अनुसार आयोजना स्थल तथा सुरुङमा रहेका ८९८ जना सम्पर्कविहीन छन्।
संयुक्त उद्धार टोलीले अपर त्रिशूली-१ को सुरुङबाट ११५ मिटरभित्र रहेका एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेको थियो। २१६ मेगावाटको उक्त आयोजनाको सुरुङभित्र उद्धारकर्मीलाई समेत अक्सिजन आवश्यक पर्ने अवस्था रहेको सहायक रथी थापाले बताए।
त्रिशूली-३ ए जलविद्युत् आयोजनाको पावर हाउसमा चार ओटा स्काभेटर र तीन ओटा वाटर पम्प प्रयोग गरी खोजी तथा उद्धार गरिएको सेनाले जनाएको छ। त्यहाँबाट दुई जनाको जीवितै उद्धार र एक जनाको शव निकालिएको छ। पावर हाउसको ढोकाभित्र ठूलो मात्रामा लेदो पसेका कारण उद्धारमा कठिनाइ भएको सेनाले जनाएको छ।
त्रिशूली-३ बी आयोजनामा करिब ४० जना पुरिएको आशंका गरिएको छ। आयोजनास्थलमा नेपाली सेनाका ९० जना सुरक्षाकर्मीले खोजी गरिरहेका छन्। मिनी स्काभेटर, मेनपावर र सावेल प्रयोग गरी थ्री ए हुँदै थ्री बीको सुरुङसम्म पुग्ने गरी काम भइरहेको सहायक रथी थापाले बताए।
